News Category 2074/01/05

सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
बैशाख ३१ हुने भनिएको स्थानिय तहको निर्वाचनका लागि मुलककै अत्यन्त संवेदनशिल मानिएको प्रदेश नं. २ को सप्तरी जिल्लामा निर्वाचनको तयारी करिब पुरा भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 
यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले आफ्नो आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिसकेको अवस्थामा निर्वाचन कार्यालय सप्तरीले निर्वाचनको तयारी पुरा भएको जनाएको छ । तर, सप्तरीमा अहिलेसम्म निर्वाचनको माहोल बनेको देखिदैन् । मोर्चाका नेता कार्यकर्ताहरुले निर्वाचन कार्यालयमा निरन्तर धर्ना र घेराउ कार्यक्रमहरुलाई निरन्तरता दिइरहेका छन् भने हालसम्म जिल्ला कुनै पार्टीले आफ्ना उम्मेदवारहरुको लिष्ट समेत प्रकाशन गर्न सकेको छैन् । जिल्लाको सदरमुकाम राजविराज बाहेक अन्य ग्रामिण क्षेत्रहरुमा समेत निर्वाचनको कुनै चहल पहल देखिएको छैन् । 
यता निर्वाचन कार्यालय सप्तरीले २०७३ चैत २८ गते जिल्ला स्तरिय समितिबाट जिल्लामा मतदान स्थलको सिफारिस गरिसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले उक्त मतदाता स्थलको सिफारिस गरेको जनाएको छ । जसमा पुरानो २ सय ८१ र नयाँ १२ वटा मतदान स्थलको सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी महेश कुमार ठाकुरले जानकारी दिनुभयो । जसमध्ये जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. १० निमावि रामपुर जमुवा मतदान स्थल नयाँ स्थानिय तहको संरचना अनुसार समायोजन गर्दा हटाइएको जनाइएको छ ।
निर्वाचन अधिकारी ठाकुरले मुख्य निर्वाचन अधिकृतको कार्यालय बैशाख ३ गते स्थापना भएको तथा १६ वटा निर्वाचन अधिकृतका कार्यालयहरु बैशाख १२ गतेसम्ममा स्थापना गरि सक्ने जानकारी दिनुभयो । ती १६ वटै निर्वाचन अधिकृतको कार्यालयहरु गाउँपालिका र नगरपालिकाको मुकाममै रहने व्यवस्था मिलाइएको छ । 
सो कार्यालय सप्तरी सदरमुकाम राजविराजस्थित पुरानो सडक विभागको भवनमा स्थापना गरिएको छ । जसको मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका मुख्य न्यायाधिश शारदा प्रसाद कोइरालालाई तोकिएको छ । 
यस्तै मतदाता शिक्षा सम्बन्धी कार्यको तयारी समेत भइरहेको जनाउँदै उहाँले मतदाता शिक्षा सम्बन्धी सम्पूर्ण सामाग्रिहरु प्राप्त भइसकेको जानकारी दिनुभयो । 
जिल्लामा २०७३ फागुन ९ गतेसम्ममा ३ लाख ३९ हजार ६ सय ५ जना नेपाली नागरिकता भएका मतदाताहरुको नाम दर्ता गरिएकोमा निर्वाचन आयोगबाट सप्तरीका लागि योग्य मतदाता ३ लाख ३१ हजार ४ सय ६२ जनाको नाम सिफारिस भएर आइसकेको छ । जसमा १ लाख ७० हजार ७ सय ५५ पुरुष, १ लाख ६० हजार ६ सय ८६ महिला र २१ जना तेश्रोलिङ्गीको नाम रहेको छ । 
यसअघि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सप्तरीका सम्पूर्ण स्थानीय निकायका कार्यालयहरुमा चैत ३ गतेदेखी तालाबन्दी गरेको छ । मोर्चाका कार्यकर्ताहरू जिल्लाका ९ वटै गाँउपालिका र ८ वटा नगरपालिकामा तालाबन्दी गरेका छन्् । मोर्चाको तालाबन्दी पछि जिल्लामा निर्वाचन सम्बन्धी तयारी समेत प्रभावित भएको छ । यता तालाबन्दीले स्थानिय निकायबाट हुने जनताका कामकाज समेत प्रभावित भएको छ ।
जिल्ला समन्वय समिति सप्तरीसहित राजविराज, शम्भुनाथ, कञ्चनरुप, डाक्नेशवरी, बोदेवरसाईन, खडक, सुरुङगा र हनुमाननगर कंकालिनी नगरपालिका र कृष्णसवरण, छिन्नमस्ता, महदेवा, सप्तकोसी, तिरहुत, तिलाठी कोईलाडी, रुपनी, बेल्ही चपेना र विष्णुपुर गाउँपालिकामा समेत मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेका छन् ।
मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवले बलजफ्ती रुपमा निर्वाचन गराउन खोजेको भन्दै स्थानीय तह पुर्नसंरचना आयोगले सप्तरी जिल्लामा बनाएका सम्पूर्ण नयाँ संरचनाहरुमा तालाबन्दी गरेको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट