News Category 2074/02/29

तोकिएको समयमा निर्वाचन हुन्छ ः प्रमुख निर्वाचन आयुक्त

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ जेठ । 
प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले तोकिएकै मिति असार १४ गते निर्वाचन हुने कुरामा सबैलाई विश्वस्त हुन आग्रह गर्नुभयो ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा आयोजित सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा आइतबार बोल्दै डा. यादवले सो कुरा बताउनुभएको हो । उहाँले निर्वाचन नसर्ने दाबी समेत गर्नुभयो । 
उहाँले निर्वाचन बिना लोकतन्त्र स्थापित नहुने भन्दै निर्वाचनमा सबैलाई सहभागि हुन आग्रह गर्नुभयो । उहाँले निर्वाचन कुनै जिल्लाको नभएर राष्ट्रकै निर्वाचन हुन लागेको बताउनुभयो । 
राजपालाई ६ वटा चुनाव चिन्ह मध्ये एक चिन्ह लिएर निर्वाचनमा सहभागि हुन आग्रह गर्दै दलहरुले राजपालाई निर्वाचनमा सहभागि गराउन हदसम्मैको लचकता अपनाइरहेको जिकिर गर्नुभयो । 
आयुक्त डा. यादवले निर्वाचनमा खटिने कर्मचारीहरुलाई निर्धक्क रुपमा आफ्नो निर्वाचन सम्बन्धी कार्य गर्न निर्देशन दिनुहुँदै कर्मचरीहरुको सुरक्षाका लागि जनता समेतले साथ दिने दाबी गर्नुभयो । 
सो अन्तरक्रियामा निर्वाचनमा सहभागि दलका प्रतिनिधिहरुले सुरक्षा व्यवस्था कमजोर भएको, मतदाता शिक्षा प्रभावकारी हुन नसकेको गुनासो गरेका थिए । सहभागिहरुको जिज्ञासाको जवाफ दिँदै डा. यादवले सुरक्षा निकायलाई निर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिनुभयो । यसैगरि स्थानिय निर्वाचन अधिकृतलाई मतदाता शिक्षा प्रभावकारी बनाउन निर्देशन समेत दिनुभयो ।
यसअघि सथनिय संचारकर्मीहरुलाई कार्यक्रम स्थलमा प्रवेश गर्न सुरक्षाकर्मीहरुले रोक लगाएपछि नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले कार्यक्रममै आपत्ति जनाउनु भएको थियो । सो आपत्ति जनाएपछि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालले सुरक्षाकर्मीहरुले नियतवस त्यसो नगरेको भन्दै आगामी दिनमा त्यसलाई सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
सो कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधी, संचारकर्मी, अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट