News Category 2070/08/02

मतदाता परिचयपत्र बितरण शुरु, केहीमा त्रुटी भेटियो

दैनिक समाचारदाता


राजविराज÷ सप्तरीमा शनिवारबाट मतदाता परिचयपत्र बितरण कार्य शुरु गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले सम्बन्धित मतदान केन्द्रबाटै मतदाताहरुको परिचयपत्र बितरण कार्य शुरु गरेको हो । 
मतदाताहरुले सहज रुपमा परिचयपत्र पाउन भन्ने उद्देश्यले मतदान अधिकृतहरुबाट परिचयपत्र बितरण शुरु गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । यसैबिच मतदाता परिचयपत्र बितरण शुरु गरेको पहिलो दिन शनिवार सप्तरीको हरिपुर ४ निवासी परमेश्वरीदेवी साहको परिचयपत्रमा त्रुटी भेटिएको छ । 
साहको मतदाता परिचयपत्र नम्बर ११६३०६२३ मा नाम परमेश्वरी देवी हुनुपर्नेमा शिबजी साह लेखिएको छ । शिबजी साह उहाँको श्रीमान् हो । 
परिचय पत्रमा फोटो परमेश्वरीदेवीको भएपनि उहाँको नामको सट्टामा उहाँको श्रीमानको लेखिएको भेटिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो । 
यस्तै राजविराज नगरपालिका–६ निवासी आशादेवी यादवको मतदाता परिचयपत्रको क्रम संख्या ९६ हुनुपर्नेमा ९१ लेखिएको फेला परेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
मतदाता परिचयपत्र बितरण शुरु गरिएपछि मतदाता परिचयपत्रमा केही त्रुटीहरु देखिएपनि निर्वाचन आयोगसँग सम्पर्क गरेर सच्याइएर बितरण गर्दै आएको प्रमुख साहले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट