News Category 2074/04/14

फोरम नेपालको बैठकमा पहाडी मूलका नेतामाथि खनिए मधेसी नेता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, १३ साउन ।
संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठक तीन दिनदेखि राजधानीमा चलिरहेको छ ।
बैठकमा चुनावी समिक्षा, भावी चुनावको रणनीति, संगठन सुदृढीकरण लगायतको एजेण्डामा छलफल भइरहेको छ । तर बैठकको रोचक पक्ष के छ भने पहाडी र मधेशी मूलका नेताहरुले फरक फरक धारणा राखेका छन् ।  
पहाडी मूलका केन्द्रीय सदस्यहरुले चुनावमा गएर पार्टीले सही गरेको भनेका छन् भने मधेशतिरका केन्द्रीय सदस्यहरुले विना तयारी चुनावमा गएर गल्ती भएको धारणा राखेका छन् । यस्तै मधेसी मूलका नेताहरुले पहाडमा मत नआएको भन्दै आलोचना गर्दा पहाडी मूलका नेताहरुले भने संगठन निर्माणको आधार तयार भएको भन्दै बचाउ गरेका छन् । 
स्थानीय तहको चुनावमा फोरमलाई पहाडभन्दा मधेशमा बढी मत आएको छ । यहाँसम्म कि बैठकमा मधेशमा भएका पार्टीका पहाडी समुदायले पनि फोरम नेपाललाई मत नदिएको आरोप मधेसी मूलका केन्द्रीय सदस्यले लगाएका छन् । 
मधेश आन्दोलनबाट पार्टी स्थापना भएको फोरम नेपालले दोस्रो संविधानसभा चुनावपछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गरेको थियो ।  आधार क्षेत्र मधेस रहेको सो एकीकृत पार्टीले पहाडमा संगठन विस्तार गरेपनि त्यसले पार्टीलाई खासै उपलब्धी नभएको टिप्पणीहरु पार्टी्भित्र हुन थालेको छ । 
एकतापछि बनेको २२९ जना केन्द्रीय कार्यसमितिमध्ये ११५ जना केन्द्रीय सदस्य पहाडी समुदायका रहेका छन् । तर चुनावमा खासै मत प्राप्त नभएको गुनासो नेताहरुले बैठकमै राखेका हुन् ।
फोरम नेपालले आन्दोलन गर्दा पनि पहाडमा प्रभाव देखाउन नसकेको गुनासो पार्टी्भित्र सुनिएको थियो । 
केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य जयराम यादवले पहाडबाट मत नआएको गुनासो गरेका थिए । स्रोतका अनुसार नेता यादवले पहाडमा संगठन छ भनेर पार्टी चुनावमा गएको भएपनि केहि परिणाम नआएको बताए । 
तर मत नआएपनि यो चुनावले संगठन निर्माण गर्ने वतावरण तयार गरेको दावी धनप्रसाद गुरुङ्गले गरेका थिए । 
पार्टीका महासचिव रणध्वज काङ्माङले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा  भने अपेक्षाकृत मतपरिणाम ल्याउन नसकेपनि जोखिम मोलेर चुनावमा भाग लिन ठूलो कुरा भएको उल्लेख गरिएको रातोपार्टी अनलाइनमा जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट