News Category 2070/08/09

सप्तरीमा मधेशवादी दलहरुको पकड खस्कियो, एमाओवादी र का“ग्रेस दुई–दुई तथा एमाले एक स्थानमा निर्वाचित

दैनिक समाचारदाता

नवीनकुमार गुप्ता
राजविराज÷मधेशवादी दलहरुको पकड मानिएको सप्तरी जिल्लामा यस पटकको संविधान सभा निर्वाचनमा एमाओवादी र काँग्रेसले दुई÷दुई स्थान तथा एमालेले एक स्थानमा आफ्नो बलियो पकड जमाएको छ ।
२०६४ सालको संविधानसभाको निर्वाचनमा सप्तरीको ६ वटा क्षेत्र मध्ये ५ वटामा मधेशवादी दलहरुले पकड जमाएको थियो । ६ मध्ये ४ क्षेत्रमा मधेशी जनअधिकार फोरम नेपालका उम्मेदबारहरु निर्वाचित भएका थिए भने एक क्षेत्रमा सद्भावना पार्टी र अर्को क्षेत्रमा स्वतन्त्र उम्मेदबार निर्वाचित भएका थिए । 
उक्त निर्वाचनमा सप्तरी क्षेत्र नं. १ बाट फोरम नेपालका हेमराज तातेड्, २ बाट जयप्रकाश गुप्ता, ४ बाट रेणु यादव र ६ बाट मृगेन्द्र कुमार सिंह यादव निर्वाचित भएका थिए । यस्तै क्षेत्र नं. ३ बाट सद्भावना पार्टीका महेश कुमार यादव तथा ५ बाट स्वतन्त्र उम्मेदबार सदरुल मियाँ हकले विजयी भएका थिए । 
तर २०७० साल मंसिर ४ गते सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा मधेशवादी दलहरुको पकड खस्किनुका साथै साख जोेगाउन समेत धौं धौं परेको छ । यस पटक ठूला तिन दलले ६ वटै क्षेत्रमा बलियो पकड जमाएको छ ।
सप्तरीमा मात्र होइन तराई मधेशको प्राय सबै जिल्लामा यस पटकको निर्वाचनमा मधेशवादी दलहरुको पकड खस्किएको छ । मधेशवादी दलहरु निर्वाचनमा पराजित हुनुमा पार्टी टुटफुट र मधेशको एजेण्डमा केन्द्रित नबन्नु नै रहेको निर्वाचनको परिणामले देखाएको छ । मधेश आन्दोलनको समयमा मधेशी दलहरुले मधेशको एजेण्डालाई शसक्त रुपले उठाए पनि पटक पटक ती दलहरु सरकार र शासन सत्तामा पुगेर केही गर्न नसकेको स्थानीय बुद्धिजिविहरुको भनाई छ । 
मंसिर ४ गते सम्पन्न संविधानसभा निर्वाचनबाट सप्तरीको ६ मध्ये ५ वटा क्षेत्रमा भएको मतगणनाको परिणाम अनुसार क्षेत्र न. १ र ३ मा नेकपा एमाओवादी, ४ मा नेकपा एमाले र क्षेत्र नं. ५ र ६ मा नेपाली काँग्रेसका उम्मेदबारहरु निर्वाचित भएका हुन् । क्षेत्र नं. २ को एक मतदान केन्द्रमा शनिबार पुनः मतदान सम्पन्न भएको छ ।   
प्राप्त मतगणनाको परिणाम अनुसार सप्तरी क्षेत्र नं. १ मा एमाओवादीका मानपुर चौधरीले ९८४४ मत ल्याई बिजयी हुनु भएको छ भने उनका निकटत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमनराज प्याकुरेलले ८२४२ मत प्राप्त गर्नुभयो । त्यस्तै तेश्रो स्थानमा फोरम लोकतान्त्रिकका हेमराज तातेड्ले ५५४९ मत ल्याउनुभयो । 
२०६४ सालको संविधानसभाको निर्वाचनमा चौधरी स्वतन्त्रबाट उम्मेदबारी दिएर तेश्रो स्थान प्राप्त गर्नुभएको थियो भने प्याकुरेल चौथो स्थान हुनुहुन्थ्यो ।  २०५६ सालमा सम्पन्न मद्यावधी निर्वाचनमा प्याकुरेलले क्षेत्र नं. ३ बाट उम्मेदबारी दिनुभएको थियो । 
 क्षेत्र नं. १ बाट २०६४ सालको संविधानसभा निर्वाचनमा फोरम नेपालबाट हेमराज तातेड् निर्वाचित हुनुभएको थियो । 
यस्तै क्षेत्र नं. ३ मा एमाओवादीका उमेश कुमार यादवले ८७४६ मत प्राप्त गरि विजयी हुनुभयो । उहाँको निकटत्तम प्रतिद्वन्द्वी फोरम नेपालका शैलेन्द्र प्रसाद साहले ६४८७ मत प्राप्त गर्नुभयो । तेश्रो स्थानमा तमलोपाका जयप्रकाश ठाकुरले ४५५३ मत प्राप्त गर्नुभयो । 
निर्वाचित यादव २०६४ सालको निर्वाचनमा तेश्रो स्थान हासिल गर्नुभएको थियो भने फोरम नेपालका शैलेन्द्र प्रसाद साह त्यसबेला निर्वाचन बहिष्कार गरेको पार्टी फोरम मधेशसँग आवद्ध हुनुहुन्थ्यो । २०६४ सालको संविधानसभाको निर्वाचनमा यादवले तेश्रो स्थान प्राप्त गर्नुभएको थियो भने सद्भावना पार्टीका तर्फबाट महेश कुमार यादव बिजयी हुनुभएको थियो । 
यसैगरि सप्तरी क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदबार ताराकान्त चौधरीले ८२१७ मत प्राप्त गरि बिजयी हुनुभएको छ भने उहाँका निकटत्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेश कुमार यादवले ६९८४ मत प्राप्त गर्नुभयो । फोरम लोकतान्त्रिकका सत्यनारायण यादवले ४३९६ मत ल्याई तेश्रो स्थान प्राप्त गर्नुभयो । 
निर्वाचित भएका एमालेका चौधरी यस पटकको निर्वाचित मध्येका नयाँ अनुहार हुनुहुन्छ । उहाँ एमालेका एक साधारण कार्यकर्ता हुनुहुन्छ । उहाँ आफ्नो व्यक्तिगत छवीका कारण मात्र निर्वाचनमा बिजयी हुनुभएको स्थानीयवासीहरु बताउँछन् । दोश्रो स्थान प्राप्त गर्नुभएका काँग्रेसका दिनेश यादव नेपाली काँग्रेस सप्तरीका सभापति हुनुहुन्छ । उहाँ २०६४ सालमा पनि यस क्षेत्रबाट उम्मेदबारी दिनुभएको थियो । यादव एक दशक अघि भएको स्थानीय निर्वाचनबाट जिल्ला विकास समिति सप्तरीका सभापति समेत बन्नुभएको थियो । 
२०६४ सालको संविधानसभाको निर्वाचनमा यस क्षेत्रबाट फोरम नेपालकी रेणु कुमारी यादव बिजयी हुनुभएको थियो । विगतमा दुई पटक सप्तरीबाट प्रतिनिधित्व गरिसक्नु भएकी यादव दुई पटक मन्बी समेत बनिसक्नु भएको छ । 
यस्तै क्षेत्र नं. ५ मा नेपाली काँग्रेसका तेजुलाल चौधरीले ७९५९प्राप्त गरि बिजयी हुनुभएको छ भने उहाँको निकटत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका गोबिन्द न्यौपानेले ७६६३ मत ल्याउनुभयो । फोरम लोकतान्त्रिकका छेदीलाल चौधरीले ६४२३ मत प्राप्त गरि तेश्रो स्थानमा रहनुभयो । 
निर्वाचित हुनुभएका काँग्रेसका चौधरी काठमाडौंस्थित नाइटेङ्गल बोर्डिङ स्कुलका संस्थापक एवं प्रिन्सिपल समेत हुनुहुन्छ । उहाँ नेपाली काँग्रेस सप्तरीका सक्रिय कार्यकर्ता हुन् । यस्तै पराजित हुनु भएका एमालेका गोबिन्द न्यौपाने नेकपा एमाले सप्तरीका जिल्ला अध्यक्ष हुन् । यसअघिको संविधानसभा निर्वाचनमा यस क्षेत्रमा स्वतन्त्र उम्मेदबार स्व. सदरुल मियाँ हक बिजयी हुनुभएको थियो । उहाँको २०७० जेठ ६ गते सप्तरीको कल्याणपुर २ स्थित आफ्नै पेट्रोल पम्पमा राती सुतिरहेको अवस्थामा हत्या गरिएको थियो । 
यस्तै सप्तरी क्षेत्र नं. ६ मा नेपाली काँग्रेसका सुरेन्द्र यादवले ५८८३ मत ल्याई बिजयी हुनु भएको छ । उहाँको निकटत्तम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका मृगेन्द्र कुमार सिंह यादवले ५६२३ मत प्राप्त गर्नुभयो । दलित जनजाति पार्टीका मो. इस्लामले ५१५६ मत ल्याई तेश्रो स्थानमा रहनुभयो । 
निर्वाचित भएका काँग्रेसका यादव सप्तरी काँगेसका एक पुराना तथा सक्रिय कार्यकर्ता हुनुहुन्छ । उहाँ नेपाली काँग्रेसका तर्फबाट जिल्ला सभापतिमा समेत लड्नु भएको थियो । उहाँ २०५६ सालको मद्यावधी निर्वाचनमा यही क्षेत्रबाट उम्मेदबारी समेत दिनुभएको थियो । 
२०६४ सालको संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट फोरम नेपालका मृगेन्द्र कुमार सिंह यादव बिजयी हुनुभएको थियो । उहाँ विगतमा तीन पटकसम्म यही क्षेत्रबाट निर्वाचित भई दुई पटक मन्त्रि समेत बनिसक्नु भएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट