News Category 2074/07/13

बस दुर्घटनामा निधन भएका मध्ये ९ जनाको कोशी किनारमा अन्त्येष्टि

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक । 
शनिबार भएको बस दुर्घटनामा परी मृत्यु भएका ३१ जना मध्ये २४ जना सप्तरीकै बासिन्दा रहेका छन् । २४ जना मध्ये १२ जनाको शव आइतबार घरमा ल्याईसकिएको सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिंहले जानकारी दिनुभएको छ । 
दुर्घटनामा ज्यान गुमाएका तिलाठीस्थित झा परिवारका चार जना, राजविराजका सेनामा कार्यरत ऋषिदेव तथा बादेबसाईन नगरपालिका मानराजका परमाणी परिवारका चार जना छोरीहरुको आइतबार कोशी ब्यारेज किनारमा अन्तिम संस्कार गरिएको छ । 
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीका पण्डित रमानाथ झाका जेठा छोरा सन्जित कुमार झा, कान्छा छोरा अन्जितकुमार झा, सन्जितकी श्रीमती सिम्मि झा, छोराहरु ८ वर्षिय अभिनव र ३ वर्षिय प्रतिकको सो बस दुर्घटनामा मृत्यु भएपछि अहिले तिलाठी शोकमय बनेको छ । सन्जितका ३ वर्षिय कान्छा छोरा प्रतिक वेपत्ता छन् । 
त्यसैगरि सन्जितको राजविराज १६ बोरिया गोठम निवासी सालो आदित्य झा, साली पुजा झा र सासु चन्द्रवती झाको समेतको सोही दुर्घटनामा निधन भएको छ । जसमा साली पुजा समेत अहिले वेपत्ता छन् । 
एकै परिवारको पाँच र सुसुराली पक्षका तीन जनाको निधन भएकोप्रति सिंगो तिलाठीवासी र राजविराज १६ वोरिया गोठमवासी अहिले शोकाकुल भएका छन् । 
यता आइतबार तिलाठीस्थित स्मारक चोकमा चार शव पुग्दा आफन्त र गाउँलेको भिड शोकाकुल देखिन्थे भने आफन्त मध्ये कोही बेहोस भएका छन् । अधिकांश तिलाठीवासीको आँखाबाट आँशुका धारा बोगिरहेको देखिन्थ्यो । 
छठ पर्व मनाएर आफ्नो जन्म थलो छाडेर कर्मथलो तर्फ प्रस्थान गरेका उनीहरु चढेको बस शनिबार बिहान धादिङ गाउँपालिका गजुरीस्थित बांगेमोड नजिकै त्रिशुली नदीमा सखेको थियो ।   
यस्तै सप्तरीकै अर्काे बोदेबर्साइन नगरपालिका ७ मानराजा निवासी चतुरनारायण प्रमाणीको परिवारमा पनि बस दुर्घटनाको खबरले मर्माहत बनाएको छ । काभ्रेमा शिक्षण पेशा गर्दै आएका प्रमाणीकी छोरीहरु चित्ररेखा, चन्द्ररेखा, चित्रलेखा र चन्द्रलेखा सोही दुर्घटनामा परी ज्यान गुमाएका छन् ।
छठ पर्व मनाउन आएका प्रमाणीले छोरीहरुलाई बसमा चढाएर आफू र पत्नी मोटरसाइकलमा जाने सोच बनाएका थिए तर सो घटनाको खबर आएपछि अहिले उनी शाकेमा डुबेका छन् ।  
यस्तै दुर्घटनामा मृत्यु भएका बेल्ही चपेना गाउँपालिका ३ नर्घाेका रमानन्द यादव पनि काठमाडौंमा अध्ययन गर्दै आएका थिए । दुर्घटनामा मृत्यु हुनेमा अधिकांश काठमाडौंमा अध्ययन गर्ने र काम गर्नेहरु छन् । जिल्लाका एक दर्जन व्यक्तिले ज्यान गुमाएपछि सप्तरी शोकमा परेको छ ।
धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा ना. ६ ख. १४६७ नम्बरको बस खस्दा त्यसमा सवार करिब ५० यात्रु मध्येबाट ३१ जनाको शव निकालि २९ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यता शव भेटिएका शवहरुमा ११ पुरुष, ८ महिला, ५ बालक र ५ बालिका रहेका छन् भने दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।  
यता त्रिशुली नदीमा खस्दा बसमा सवारमध्ये १६ जनाको जिवित्तै उद्दार गरिएको छ । उद्दार गरिएका मध्ये अधिकांशको  स्थानिय अस्पताल तथा दुई जनाको काठमाडौंस्थित बीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 
बस तिब्र गतिमा रहेकोले उक्त दुर्घटना भएको उद्दार गरिएका यात्रुहरुलाई उद्धृत गर्दै धादिङ प्रहरीले जनाएको छ । यता जिवित्तै उद्दार गरि काठमाडौंस्थित ट्रमा सेन्टरमा राजविराज ९ निवासी अधिवक्ता दुर्गानन्द चौंधरी र उनका छोरा अविशेक चौधरीको उपचार भइरहेको छ । 
त्यस्तै गजुरीस्थित अस्पतालमा राजविराज ३ का अमन ठाकुर, श्रवण कुमार ठाकुर, उद्धव ठाकुर, सिरहा भगवानपुर गाउँपालिकाका दिवशकान्त पण्डित, सिंगाहीका निविदिता चौधरी, शुभम चौधरी, सप्तरीका दुर्गानन्द यादव, सन्तोष सरदार, राजविराज १० का शुशिल यादव, ९ का सुरेन्द्र कुमार यादव, अमन ठाकुर, १ का सिद्धार्थ कुमार यादव, भारत बिहार मधुवनीका मनोज ठाकुर, गणेश ठाकुर, गौरीशंकर ठाकुरको उपचार भइरहेको छ । 
यस्तै मृत्यु हुनेहरुमा सिराहा गोलबजार ८ बस्ने वर्ष ५० को राज कपुर यादब, सप्तरी बोदेबर्साईन १ बस्ने वर्ष १५ को चन्द्र रेखा प्रमाणी, राजबिराज १६ बस्ने वर्ष ७४ को चन्द्रावती झा, तिलाठि कोईलारी १ बस्ने वर्ष ३३ को अन्जित कुमार झा, राजविराज १६ देउरिया भरुवाका वर्ष १८ को नरेश मुखिया (सह(चालक), सिरहा नरैया बस्ने वर्ष ३ को शुसान्त चौधरी, २४ वर्षका रामानन्द यादब, भारत बिहार बस्ने वर्ष २९ की ममता देबि ठाकुर, सप्तरी बोदेबर्साईन २ बस्ने वर्ष ६ को आदित्य यादब, तिलाठि ३ बस्ने वर्ष ३८ को संजित कुमार झा, सिरहा नरैया बस्ने वर्ष २६ की पार्बती चौधरी, तिलाठि ३ बस्ने वर्ष ३५ की सम्मि कुमारी झा, सप्तरी बोदेबर्साईन ३ बस्ने वर्ष १५ की चन्द्र लेखा प्रमाणी, सप्तरीको महादेवा ९ बस्ने बर्ष २७ को प्रमोद ईसार, सप्तरी कृष्णसवरन ४ बस्ने बर्ष २९ को सुधिर कुमार यादब, भारत बिहार मधुवनि बस्ने बर्ष १२ को मनिष ठाकुर, सराह नराह १० बस्ने बर्ष ३० को उदय मण्डल, सप्तरी बोदेबरसाईन २ बस्ने बर्ष २५ कि आशीकि कुमारी यादव, कृष्णासवरन ४ बस्ने बर्ष ५ कि समिक्षा यादव, सिराह लहान ६ बस्ने बर्ष ३७ कि प्रभा चौधरी, राजबिराज १३ बस्ने बर्ष ३० को रिषी आनन्द देव, १४ बस्ने बर्ष २० को आदित्य झा, सप्तरी बोदेबरसाईन २ बस्ने बर्ष १३ कि समिक्षा कुमारी यादब, शम्भुनाथ बस्ने बर्ष ५को सुदिप चौधरी, बोदेबरसाईन ३ बस्ने बर्ष ९ कि चित्र रेखा बरमाणी, बोदेबरसाईन ३ बस्ने बर्ष १ कि मानवी यादव, सप्तरी बोदेबरसाईन २ बस्ने बर्ष ३५ को सुरेन्द्र चौधरी, बोदेबरसाईन ३ बस्ने बर्ष ११ कि चित्र रेखा प्रमाणी र २ बस्ने बर्ष ६ को पशुपती चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतक परिवारलाई क्षतिपूर्ती र घाइतेको निःशुल्क उपचार माँग
नेपाली काँग्रेस, नेकपा एमाले, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र गैरसरकारी महासंघ नेपाल सप्तरीले बस दुर्घटनामा निधन भएका परिवारजनलाई उचित क्षतिपूर्ती तथा घाईतेहरुको निशुल्क उपचारको माँग गरेका छन् ।
जिल्लास्थित सम्पूर्ण पार्टीका अध्यक्षहरुले विज्ञप्ति प्रकाशित गरि सो माँग गर्दै बस दुर्घटनाको कारण पत्ता लगाई दोषिमाथी कारवाहीको माँग समेत गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट