News Category 2074/08/16

मधेश र मलेठ घटना सम्बन्धि बृत्तचित्रको अनावरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर । 
दुई वर्षअघिको मधेश आन्दोलन र गत फागुन महिनामा भएको मलेठ घटनालाई समेटेर बनाइएको ३२ मिनेट लामो बृत्तचित्र शुक्रबार राजविराजमा अनावरण गरिएको छ । 
२०७२ सालमा भएको ६ महिनाभन्दा बढीको लामो आन्दोलन र मलेठ घट्नालाई समेटेर तयार पारिएको बृत्तचित्र शहिद परिवारहरुले विमेचन गरेका छन् । 
संचारकर्मी श्रवणकुमार देवको अगुवाईमा निर्माण गरिएको उक्त बृत्तचित्र नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच शहीद परिवारले उक्त बृत्तचित्रको बिमोचन गरेका हुन् । 
‘राज्य पक्षके दमने दमन’ नाम दिइएको उक्त बृत्तचित्रको मलेठमा मारिएका संजन मेहताका पिता लक्ष्मण मेहता, पिताम्बर मण्डलकी पत्नी सोमनी देवी र बिरेन्द्र मेहताकी पत्नी रञ्जनादेवी तथा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले संयुक्त रुपमा बिमोचन गरे ।
२०७२ सालको आन्दोलनमा सप्तरीसहित तराई मधेशका जिल्लामा राज्य पक्षले गरेको व्याप्क दमनका घट्नाहरु ब्ृत्तचित्रमा समावेश गरिएको छ । आन्दोलनका क्रममा प्रहरीले घरभित्र पसेर कुटपिट गरेको, आँगनमै अश्रु ग्यास पड्काएको, टाउको र छातिमै गोली प्रहार गरेको, जहाँ पायो त्यहीं गोली चलाएको जस्ता यथार्थ दृश्यहरु समावेश गरिएको छ ।
लेखन, निर्देशन संचारकर्मी देवद्वारा गरिएको बृत्तचित्रमा देवसहित करुणा झाको स्वर रहेको छ । मधेशी पत्रकार समाज र सप्तरी युथ नेपालको संयुक्त प्रस्तुतीको रुपमा यो डकुमेन्ट्रीबाहिर ल्याइएको छ ।
       बृत्तचित्रले आँखा रसाएको बताउँदै समिक्षकको भूमिका निभाएका नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष बिष्णुकुमार मण्डलले बृत्तचित्र एउटा दस्ताबेज भएको बताए । यस्तै अधिबक्ता अशोक कुमार चौधरीले आन्दोलनका घट्नाहरुलाई समेटेर जिल्लामा पहिलो पटक बृत्तचित्र निर्माण गरिएको बताउँदै यसले इतिहासलाई जागृत बनाइराख्ने बताए । वरिष्ठ पत्रकार अनिलकुमार अनलले बृत्तचित्रले आन्दोलनलाई ताजा राख्दै राज्य पक्षले गरेको दमनलाई प्रष्टफुटित गरेको बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट