News Category 2074/08/20

निर्वाचनका लागि ५ हजार ९ सय ७० सुरक्षाकर्मीहरु परिचालन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर । 
मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंहका अनुसार जिल्लामा निर्वाचनका लागि ५ हजार ९ सय ७० सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । जसमा नेपाल प्रहरी १ हजार ८ सय, सशस्त्र प्रहरी ९ सय ५०, म्यादी प्रहरी ३ हजार १ सय ६० र राष्ट्रिय अनुसन्धानका ६० जना सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए । 
त्यस्तै सुरक्षाकर्मी बाहेक नेपाली सेनाले समेत विभिन्न मतदान स्थलहरुमा निगरानी बढाएको उनले बताए । 
प्रहरी उपरिक्षक सिंहले जिल्लामा एउटा पनि मतदानस्थल सुरक्षाका दृष्टिकोणले समान्य नरहेको जानकारी दिए । जिल्लाका कुल २ सय ९५ मतदानस्थलमध्ये २ सय ७  अति संवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको उनको दाबी छ । 
यता जिल्लाको क्षेत्र नं १ मा अति संवेदनशील ३२ र संवेदनशील ४८, क्षेत्र नं २ मा कायम भएको ६८ मतदानस्थल नै अति संवेदनशील रहेको छ  । क्षेत्र नं ३ मा अति संवेदनशील ७७ र संवेदनशील १७ तथा क्षेत्र नं ४ मा अति संवेदनशील ५१ र संवेदनशील २३ रहेको छ । 
उनले भने, “पार्टी–पार्टीबीच अन्तरद्वन्द्व तथा जिल्लाका अधिकांश मतदानस्थल भारतीय सीमासँग जोडिएका कारण पनि मतदान स्थलमा हुनसक्ने आपराधिक गतिविधिलाई ध्यानमा राखी मतदानस्थल सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।”
यस्तै स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सुरक्षा सतर्कता बढाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट