News Category 2074/11/05

बहिनीको बलात्कारपछि हत्या, दुई वर्षिया बालिका समेत बलात्कृत

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
सप्तरीमा एक युवकले ११ वर्षिया बहिनीको बलात्कार गरि हत्या गरेका छन् । हत्या भएको ९ दिनपछि सप्तरी प्रहरीले सो घटना सार्वजनिक गरेको हो । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त घटना सम्बन्धमा बिस्तृत जानकारी दिदैं हत्याका आरोपी समेतलाई सार्वजनिक गरेको छ । 
जिल्लाको खडक नगरपालिका वडा नं. ९ लालपट्टी निवासी राजकुमार मण्डलकी ११ वर्षिया छोरी पार्वती कुमारी मण्डललाई माघ २५ गते साँझ ५ बजे ठूलोबुबाका छोरा १८ वर्षिय राजदेव मण्डलले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । घटना भएको ५ घण्टापछि मात्र प्रहरीले थाहा पाएपछि घटना बारे बिस्तृत अनुसन्धान सुरु गरेको सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।
माघ २५ गते साँझ ५ बजेतिर पार्वतीले टाउको दुखेको भनेपछि उनकी आमा औषधी खरीद गर्न पसल गएको मौका छोपी राजदेवले सुतिरहेकी पार्वतीलाई बलात्कार गरेको र पछि पावर्तीले कराउन थालेपछि राजदेवले घाटीमा तुना बेरेर उनको हत्या गरेको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए । 
औषधी खरीद गरेर घर फर्किएपछि पार्वती ओछ्यानमै मृत अवस्थामा देखेकी आमाले आफ्नो कालगतिले मृत्यु भएको भन्दै सोही समय दाहसंस्कार गर्ने तयारी गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक हरि बहादुर ढकालले जानकारी दिए । दाहसंस्कार गर्नै लाग्दा हजुरबुबा पर्नेले मृत अवस्थामा रहेकी पावर्तीको हात छामेपछि तातो रहेको भन्दै अस्पताल लैजाने सल्लाह दिए अनुसार स्थानीय अस्पताल लगिएको थियो उनले बताए । अस्पतालका चिकित्सकले उपचार सम्भव नहुने भनेपछि पुनः सिरहास्थित लहान अस्पतालमा पार्वतीको मृत शरीर लगियो र त्यहका चिकित्सकले उनलाई मृत घोषित गरे । 
प्रहरी निरिक्षक ढकालले मृत्यु पश्चात् पोष्टमार्टम गर्न खोजिएपछि घाँटीमा डोरीको डाम देखिए लगत्त चिकित्सकले पार्वतीको मृत्यु कालगतिले नभएको निष्कर्ष निकालेको बताए । सोही समयदेखी प्रहरीले मृत्यु भएको भनिएकी बालिकाको हत्या भएको आंशका गर्दै अनुसन्धालाई तिब्रता दिएको उनले बताए । 
यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिका निवासी २ वर्षिया एक बालिकालाई सोही स्थानका १२ वर्षिय नाबालकले बलात्कार गरेको घटना समेत प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ती बालिकाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको तथा बालकलाई प्रहरीले हिरासतमा राखेको छ । 
पक्राउ परेका मण्डललाई मुलुकि ऐन जवरजस्ती करणि महलको १४ को दफा १ बमोजिम कसुर अपराधमा सोही ऐनको दफा ३(२) अनुसार र दफा (१३) ३मा ज्यान मार्ने मुद्धा संगै हाडनातामा करणी गर्ने मुद्धा चलाउने तयारी गरिएको प्रहरी उपरिक्षक सिंहले बताए । 
बलात्कारका उल्लेखित २ घटनासंगै सप्तरीमा एक वर्षको अवधिमा बालिका बलात्कारको घटना १२ पुगेको सप्तरी प्रहरीले जनाएको छ ।   

प्रतिकृया दिनुहोस

ताजा अपडेट