News Category 2074/11/20

एक सातादेखी क्याम्पसमा तालाबन्दी, सम्बन्धीत निकाय समस्या प्रति गम्भिर भएन् ः संघर्ष समिति

दैनिक समाचारदाता

राजविराज÷नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा नगाभ्न भन्दै विगत एक महिनादेखी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले गर्दै आएको आन्दोलनप्रति वेवास्ता गरिएको भन्दै क्याम्पसमा अनिश्चित्कालिन तालाबन्दी गरिएको छ । 
देउवा नेतृत्वको सरकारले राजविराजसहित जनकपुरको राराव क्याम्पस र सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पसलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने निर्णय गरेको हो ।
नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा नगाभ्न भन्दै आन्दोलन गर्दै आइरहेका मविव क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले उक्त क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसकै रुपमा राख्न माँग गर्दै आएका छन् । तर, अहिले तीनै क्याम्पस राजर्षि जनक विश्वविद्यालयमा नरहने भन्दै आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।  
यसैबीच सोही माँग राख्दै सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पसमा समेत तालाबन्दी गरिएको छ । प्राध्यापक संघका अध्यक्ष कपिलदेव यादवले नयाँ विश्वविद्यालय खुलेकोमा कुनै आपत्ति नभएको जनाउँदै त्रिविको तीन वटा आंगिक क्याम्पसलाई गलत मनसायले ऐन पास गरेर गाभ्ने प्रवृति गलत भएको बताए । उनले जबरजस्ति तीन वटा क्याम्पसलाई नयाँ विश्वविद्यालयमा गाभ्न खोजिएको भन्दै बाध्य भई तालाबन्दी गर्नुपरेको बताए । 
सरकारी निर्णयको बिरोध गर्दै माघ २१ गतेदेखी विभिन्न चरणको आन्दोलन गर्दै आइरहेका क्याम्पसका प्राध्यापक, कर्मचारी, शिक्षक, विद्यार्थीहरूले माँग बारे सम्बन्धीत निकायले वेवास्ता गरेको भन्दै गत आइतबार बाध्य भई तालाबन्दी गर्नु परेको संघर्ष समितिका संयोजक सिंघेश्वर प्रसाद यादवले जानकारी दिएका छन् । 
उनले संसद विघटनकै दिन नेपाल सरकारले आफूहरुसँग कुनै सुझाव नलिई मविव क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभेको बिरोधमा आन्दोलनमा उत्रनु परेको बताए । 
त्यस्तै राराब क्याम्पस जनकपुरका इकाई समितिका सचिव रामह्दय मण्डलले नवस्थापित विश्वविद्यालयमा नयाँ क्याम्पसहरुलाई गाभेर नयाँ युवाहरुलाई रोजगारीका लागि मौका दिनुपर्ने सुझाव दिँदै त्रिविको आंगिक क्याम्पसलाई नयाँ विश्वविद्यालयमा गाभे राराब क्याम्पसका कर्मचारी, प्राध्यापकहरु समेत आन्दोलनमा उत्रने चेतावनी दिए ।  
यसैबीच मविव क्याम्पस राजविराज कर्मचारी संघका उपाध्यक्ष रामसेवक ठाकुरले नेपाल सरकारले गैरजिम्मेवारी तरीकाले त्रिविको आंगिक क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभ्न खोजेको भन्दै तालाबन्दी गरिएको बताए ।
यसअघि हातमा कालोपट्टी बाँधेर कामकाज, कलम बन्द, कक्षा स्थगितलगायतका आन्दोलनका कार्यक्रम गर्दै गत आइतबार तालाबन्दी गरिएको हो । क्याम्पस गाभ्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीसमेतलाई ज्ञापन पत्र बु्झाइ सकिएको जनाइएको छ । 
मविव क्याम्पस राजविराजमा स्थायी, निजि, करार र आंशिक गरि झण्डै १ सय ५० कर्मचारी कार्यरत रहेका छन् भने  तालाबन्दीका कारण अबको केही दिनमा हुने विभिन्न तहको परीक्षामा सहभागि हुने १ हजार ७ सय विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । 
यसैबीच गठित संघर्ष समितिका संयोजक सिंघेश्वर प्रसाद यादवले  मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्का मार्फत  प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । 
बुझाइएको ज्ञापनपत्रमा क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरु त्रिभवन विश्वविद्यालयको आंगिक क्याम्पसकै रुपमा रहन चाहेको उल्लेख गर्दै राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने निर्णयको पूर्ण रुपमा बिरोध गरिएको जनाइएको छ । 
सोही ज्ञापनमा माँगहरुप्रति संम्वेदनशील भई त्रिविकै आंगिक क्याम्पसका रुपमा राख्न अनुरोध गर्दै सो अनुसार नभए अझ थप आन्दोलन गर्न बाध्य हुने जनाइएको छ । 
सो ज्ञापन राष्ट्रिय सभाका अध्यक्ष, शिक्षा मन्त्री तथा त्रिविका सहकुलपति, उपकुलपति, त्रिवि शिक्षाध्यक्षको कार्यालय, रजिष्टारको कार्यालयलाई समेत बोधार्थ गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट