News Category 2074/12/21

कृषि र सहकारी क्षेत्रलाई प्राथमिकता ः मन्त्री साह

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० चैत ।
‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ नाराका साथ ६१ औं राष्ट्रिय सहकारी दिवस २०७४ मंगलबार भव्यताका साथ सप्तरीमा मनाइएको छ । जिल्ला सहकारी संघ सप्तरीको आयोजनामा विविध कार्यक्रम गरि सो दिवस मनाइएको हो । 
संघको आयोजनामा जिल्लामा रहेका सहकारी संस्थाहरुले आ–आफ्नो ब्यानरसहित मंगलबार बिहान राजविराजमा सामूहिक प्रभातफेरी गरेका छन् । स्थानिय शिवमन्दिरको प्राङ्गणमा जम्मा भई सहकारीकर्मीहरु ब्यानर तथा प्ले कार्डसहित प्रभातफेरीमा सहभागि भए । 
प्रभातफेरी पश्चात् जिल्ला समन्वय समितिको सभाहलमा आयोजित मञ्चिय कार्यक्रममा वक्ताहरुले सहकारी संस्थाहरु आउँदो दिनमा एक अर्कासँग समन्वयकारी भूमिका गर्नु पर्नेमा जोड दिएका छन् । 
कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्दै प्रदेश नं. २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश नं. २ मुख्य रुपले कृषि र सहकारी एकअर्काको परिपुरक रहेको भन्दै यसलाई अझ व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री साहले सहकारी संस्थाहरु अबको दिनमा अधिकत्तम रुपले कृषि क्षेत्रमा लगानी गरे सातै प्रदेशमध्ये प्रदेश नं. २ आत्मनिर्भर र विकसित हुने उल्लेख गरे । 
सहकारी मन्त्री साहले प्रदेश २ मा सबै भन्दा बढी कृषि योग्य जमिन रहेकोले यसका लागि अब बन्ने प्रदेश अन्तरगतको ऐनमा कृषि र सहकारी क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । 
कार्यक्रममा मन्त्री साहले प्रदेश नम्बर २ लाई माछा जोनको रुपमा विस्तार गर्ने लक्ष्य प्रदेश सरकारको रहेकोले प्रदेशको ८ वटै जिल्लालाई छुट्टाछुट्टै आठ जोनको रुपमा विकसीत गर्नुको साथै समग्र प्रदेशलाई माछा जोनको रुपमा विकसित गर्ने जानकारी दिए । उनले गत वर्ष मात्र प्रदेशमा ३ अर्वको माछा आयात भएको जानकारी दिँदै यत्रो ठूलो पूँजी बाहिर जानदिनुको साटो माछापालन गर्नुपर्नेमा जोड दिए । 
सोही कार्यक्रममा प्रदेश सभा सदस्यद्वय गोविन्द न्यौपाने, रुवी कर्णले समाजको बिकासमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेकोले सहकारी क्षेत्रको बिकासका लागी आफुहरु सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । 
यस्तै जिल्ला सहकारी संघका अध्यक्ष विनोद दत्तले संघले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक बजेटमा सप्तरीमा शीत भण्डारको निर्माण परेपनि २० प्रतिशत रकम सहकारीबाटै लगानी गर्नुपर्ने भएकाले प्रदेश तथा स्थानीय सरकारलाई उक्त रकम उपलब्ध गराईदिन आग्रह समेत गरे ।
कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, सप्तरी प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, त्रियुगा सहकारी संस्थाका शम्भु खडका लगायतका वक्ताहरुले सहकारीको विकासबारे चर्चा गरेका थिए ।
यस्तै उक्त कार्यक्रममा मन्त्री साहसहित सहकारी आवद्ध प्रदेश सभा सदस्यद्वय न्यौपाने र कर्ण, स्थानीय निकायका प्रमुख उप प्रमुखलाई सम्मान समेत गरिएको थियो । जिल्लाका ६ सय भन्दा बढी सहकारी संस्थाहरुमा झण्डै १ लाख १० हजार जना शेयर सदस्यहरु रहेको जिल्ला सहकारी संघका संचालक समिति सदस्य सनथ कुमार मण्डलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट