News Category 2074/12/29

पुराना संरचना भत्काउने कार्य रोक्न माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन, बैशाख ३ सम्म हुलाकी राजमार्गका लागि जग्गा खाली गर्न भन्दै म्याकिङ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ चैत ।
राजविराज ७ स्थित हटिया बजार क्षेत्रका संरचना हटाउन नगरपालिकाले गरेको सूचना पश्चात् सो कार्य रोक्न हटिया बजार क्षेत्रका व्यवसायीले चरणबद्घ आन्दोलनलाई निरन्तरता दिदै बुधबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
हटिया बजार संरक्षण समितिका संयोजक लक्ष्मण साहको नेतृत्वमा हटियाबासीको बुधबार राजविराजमा जुलुश निकालेर जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेमार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको हो  ।
ज्ञापन पत्रमा राजविराजको मुटुमा रहेको हटिया बजारको पुरानो संरचना भत्काउँदा हटियाको मौलिकता नष्ट हुनुका साथै साना तथा मझौला व्यवसायीहरुको बिल्लीबाठ हुने र त्यसमा आश्रित ३ हजार भन्दा बढी व्यक्ति बेरोजगार हुने उल्लेख गर्दै तत्काल त्यसलाई रोक्नुपर्ने माग गरिएको छ ।
राजविराज नगरपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुले विकासको नाममा हटियाको मौलिकता नै समाप्त गर्न लागेकाले त्यसलाई रोक्न प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हटिया बजार संरक्षण समितिका संयोजक लक्ष्मण साहले बताए ।
विगत ७६ वर्षदेखि हटिया बजारमा साना व्यापार व्यवसाय गरी जिविकोपार्जन गर्दै आएकाहरुको उठिवास गराउने गरी नगरपालिकाले नयाँ संरचना निर्माणको योजना ल्याएको उल्लेख गर्दै त्यसलाई कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने र जर्बजस्ती गर्न खोजिए प्रतिकार गर्ने चेतावनी समेत ज्ञापनमार्फत दिएका छन् ।
गत माघ २० गते हटिया खाली गर्नु पर्ने भन्दै राजविराज नगरपालिकाले विभिन्न पत्र पत्रिका र एफ एम मार्फत १५ दिने सूचना प्रकाशित गरेको थियो । तर हटियाबासीको अवरोधका कारण नगरपालिकाको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन ।
राजविराज नगरपालिकाको पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, पूर्व मेयरहरु राखेर पटक पटक विवाद मिलाउने प्रयास गरिएपनि कुरा नमिलेपछि हटियाबासी चरणवद्घ आन्दोलन गर्दै आएका छन् ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले ज्ञापन पत्र बुझदै बुधबारै प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र फयाक्स मार्फत पठाई समस्या समाधानको लागी पहल गर्ने जानकारी दिए ।
यता श्रोतका अनुसार बैशाख ३ गते राजविराजस्थित हटियालाई खाली गराई नयाँ संरचना अनुसारको कार्य सुरु गर्ने जनाइएको छ ।
यस्तै हुलाकी राजमार्ग समेत फराकिलो बनाउने उद्देश्यले सो क्षेत्रमा पर्ने घर, टहरा समेत खाली गराउनका विभिन्न पत्रपत्रिका तथा एफएम मार्फत सूचना जारि गरिएको छ । 
श्रोतका अनुसार हुलाकी राजमार्ग अन्तरगत पर्ने राजविराज सिरहा रोड हुँदै अदालत रोड, सिडियो बंगला, बस स्टेण्ड हुँदै कंचनपुर रोडलाई बीच सडकबाट दायाँ बाँया १५÷१५ मिटर रोड बढाउन भन्दै बुधबार म्याकिङ मार्फत आउँदो बैशाख ३ गतेसम्म खाली गर्न जनसमुदायलाई आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट