News Category 2075/01/22

यातायात सञ्चालन नभएपछि जनजीवन प्रभावित सप्तरीबाट संघका सचिवसहित देशभरबाट ७१ जना पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ वैशाख ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै शुक्रबार देशभरी यातायात सञ्चालनमा रोक लगाएको छ । 
महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि सप्तरीसहित देशभरको जनजीवन प्रभावित भएको छ । 
यसैबीच सप्तरीबाट सगरमाथा यातायात संघका तीन जना पदाधिकारी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा संघका सचिव दिनेश साह तथा सदस्यद्वय गजेन्द्र भगत र दिनेश गुप्ता रहेका छन् । तीनै जनालाई प्रहरीले संघको राजविराजस्थित कार्यालयबाटै पक्राउ गरेको संघले जनाएको छ । 
यता सरकारले देशभरिबाट सिण्डिकेटको पक्षमा सेवा अवरुद्ध पारेका ७१ जना यातायात व्यवसायीलाई पक्राउ गरेको छ । 
देशका १८ जिल्लाका ७१ व्यवसायी पक्राउ परेका गृह मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार दिउँसो गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरीले व्यवसायीलाई पक्राउ गरेको हो ।
प्रहरीले  सुनसरी, उदयपुर, खोटाङ, झापा, सप्तरी, बारा, रौतहट, मकवानपुर, काभ्रे, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङ, रुपन्देही, दाङ, कपिलबस्तु, कालिकोट र कैलाली जिल्लामा यातायात व्यवसायीलाई पक्राउ गरेको छ ।
प्रहरीले शुक्रबार दिउँसो नेपाल यातायात व्यवसायी राष्टिूय महासंघका महासचिव सरोज सिटौलालाई काठमाडौंको भृकुटीमण्डपबाट पक्राउ गरेको थियो । त्यस्तै पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बञ्जाडे र महासचिव पदम गाहा बुटवलबाट पक्राउ परेका छन् ।
सबैभन्दा धेरै व्यवसायी रुपन्देहीबाट १० जना पक्राउ परेका छन् । त्यस्तै सुनसरीबाट ९ जना, झापाबाट ८ जना, बाराबाट ७ जना,  रौतहट, खोटाङ र लमजुङबाट ५र ५ जना पक्राउ परेका छन् ।
उनीहरुलाई बस चलाउने र सिण्डिकेट नमान्ने प्रतिवद्धता जनाएमात्र रिहा गरिने गृह मन्त्रालयले जनाएको छ ।
यता पक्राउ पर्नु अघि सिटौलाले व्यवसायीले यातायात राम्रो बनाउनका लागि सरकार, व्यवसायी र उपभोक्ता रहने गरी अधिकार सम्पन्न प्राधिकरणको माग गरिरहेका बेला सरकारले अकस्मात् ढंगले निर्देशिका जारी गरेको भन्दै आफूहरूले सवारी संचालन बन्द गर्नुपरेको बताए । 
अर्कातिर, कम्पनीमा आबद्ध यातायात व्यवसायीले भने आफ्नो सेवालाई बिहीबार पनि निरन्तरता दिने भएका छन् । बिहीबार कम्पनीमा आबद्ध व्यवसायीको यातायात व्यवस्था विभागमा भएको छलफलपछि सेवा दिन तयार रहेको टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)का महासचिव कृष्ण आचार्यले जानकारी दिए । महासंघअन्तर्गत अहिले देशभरका ३०५ समितिमा झण्डै चार लाख सार्वजनिक यातायात सञ्चालनमा छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट