News Category 2075/02/09

मधेश आन्दोलनका सहिद नागेश्वरका पत्नीलाई गाउँपालिकाले दियो जागिर

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
मधेश आन्दोलनका क्रममा सहिद भएका नागेश्वर कुमार यादवका पत्नीलाई सप्तरीको रुपनी गाउँपालिकाले सामाजिक परिचालकको रुपमा नियुक्ती दिएको छ । मधेश आन्दोलनका कुनै पनि सहिदका परिवारलाई जागिर दिइएको सप्तरीमा सम्भवत यो पहिलो हो । 
सहिद यादवकी पत्नी सुष्मा कुमारी यादवलाई रुपनी गाउँपालिकामा सामाजिक परिचालकको रुपमा नियुक्त गरिएको उक्त गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् । 
सुष्मालाई प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापाद्वारा हस्ताक्षरित नियुक्ति पत्र मंगलबार गाउँपालिकाका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनीदेबी सरदार र प्रशासीय अधिकृत थापाले संयुक्त रुपमा सुष्मालाई हस्तान्तरण गरे । 
हस्तान्तरण गरिएको नियुक्तीपत्रमा लेखिएको छ, “रुपनी गाउँपालिकाको २०७५÷२÷४ को बैठकले गाउँपालिकाको रिक्त सामाजिक परिचालक पदमा तपाई सहिदको परिवार सुष्मा कुमारी यादवलाई नियुक्ती गर्ने निर्णय बमोजिम यो नियुक्ती पत्र दिइएको छ ।” 
२०७२ साल मंसिर ५ र ६ गते तत्कालिन मधेशी मोर्चा सप्तरीले “चलु राजमार्ग भरु राजमार्ग” को आयोजना गरेको बेला जिल्लाको रुपनीमा प्रहरीले चलाएको गोली लागि जमुनी मधेपुरा ९ का २७ वर्षिय नागेश्वर यादवको घटनास्थलमै मृत्यु भएको थियो । उनीसँगै भारदहमा प्रहरीको गोली लागि जिल्लाको डाढा गाविस बलिया बथनाहा १ का १४ वर्षिय बिरेन्द्र रामको मृत्यु समेत भएको थियो । 
सोही मधेश आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका सप्तरीका राजिव राउत, रामकृष्ण राउत, बिरेन्द्र कुमार राम र दिलिप कुमार साहको मृत्यु भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट