News Category 2075/02/22

रजिष्टर खरीद गर्ने पैसा नहुँदा विद्यार्थीको हाजिरी हुँदैन्

दैनिक समाचारदाता

नवीनकुमार गुप्ता
राजविराज, २१ जेठ ।
सप्तरी जिल्लामा एउटा यस्तो विद्यालय छ, जसमा विद्यार्थीहरुले हाजिरी नै गर्दैनन् । पैसा अभावमा हाजिरी रजिष्टर खरीद गर्न नसकिएपछि विद्यार्थीहरु हाजिरी गर्नबाट बञ्चित भएका छन् । 
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ स्थित राष्ट्रिय प्राथमिक विद्यालय कदमाहामा हाल राजनीतिक दाऊपेचका कारण विद्यालय लथालिङ बन्न पुगेको छ । 
एउटा प्राथमिक विद्यालयमा हुनुपर्ने सम्पूर्ण भँैतिक संरचना र शैक्षिक वातावरण हुँदा हुँदै पनि विद्यालयको उचित व्यवस्थापन र राजनीतिक चहलखेल अत्याधिक भएकोले विद्यालय नामको मात्र बन्न पुगेको छ । यस विद्यालयमा ६ वटा कक्षा कोठाहरु रहेका छन् । तर, कक्षा कोठाहरु सधै बन्द नै रहने गर्दछ । ती कक्षा कोठा मध्ये दुई वटा कोठा जोखीमपूर्ण अवस्थामा र अन्य कोठा गोदामका रुपमा प्रयोग भएको छ भने एउटा कोठा खुल्ने तर विद्यार्थी आउन छाडेपछि एउटै कोठामा कक्षा १ देखी ५ सम्मका विद्यार्थीहरु पढ्न बाध्य छन् । विद्यालयमा कक्षा १ मा २४, २ मा २२, ३ मा १२, ४ १८ र ५ मा १० गरि कुल ८६ विद्यार्थी छन् । तर, विद्यालयको लथालिङ अवस्थाका कारण नियमित विद्यालय आउने विद्यार्थीको संख्या ११ मात्र छन् । 
विद्यालय कम्पाण्ड भित्र चारवटा नयाँ शौचालय पनि छ । तर, बनाएको पाँच महिना वितिसक्दा पनि विद्यार्थी र शिक्षकले सेफ्टी टैंकी निर्माण हुन नसम्दा शैचालय प्रयोग गर्न पाएका छैनन् । पेन्टरलाई लेखे वापतको पारिश्रमिक दिन नसक्दा विद्यालयको पहिचान खुल्ने साइन बोर्ड समेत राखिएको छैन् । २०७४ माघ १० गते विद्यालयका प्रअ बिन्देश्वरी मण्डल सेवा निबृत भएपछि अहिले विद्यालय अभिभावक विहीन समेत भएको छ । 
एउटै कक्षा कोठामा राखेर यसरी पढाई संचालन गर्दा विद्यार्थी र शिक्षक दुबैलाई असहज हुने गरे पनि बाध्यताका कारण पढाई संचालन गर्नु परेको शिक्षक राजनारायण यादवले बताए । प्रअ मण्डल सेवा निबृत भएको पाँच महिना बितिसक्दा पनि अन्यलाई जिम्मेवारी नदिएको, खाता संचालन हुन नसकेको र वडा अध्यक्ष रामनाथ मण्डलले विद्यालयलाई राजनीतिक गर्ने थलोको रुपमा प्रयोग गर्न थालेपछि विद्यालयमा एक पछि अर्को समस्या थपिँदै गएको उनको भनाई छ । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर कुमार मण्डल र वडा अध्यक्ष रामनाथ मण्डल सहोदर दाजुभाई हुन् । जसका कारण वडा अध्यक्ष मण्डललाई विद्यालयमा मनपरी गर्न सहज भएको उनको आरोप छ । वडा अध्यक्ष मण्डलकै हस्तक्षेपका कारण लामो समयदेखी विद्यालय प्रअविहीन भई नयाँले जिम्मेवारी नपाएको तथा शैक्षिक गतिविधि लथालिङ भएको शिक्षक यादव बताउछन् । विद्यार्थीहरु विद्यालय आउन नमानेपछि चकलेट खरीद गरेर दिएपछि पढ्न आउने उनको भनाई छ । 
यता विद्यालयका अर्का सिनियर शिक्षक हरेकृष्ण पैकराले पाठ्य पुस्तक, हाजिरी रजिष्टर र स्टेश्नरी लगायतका आवश्यक सामाग्रि किन्न नसकिएको बताउँदै वडा अध्यक्ष र व्यवस्थापन समितिकै कारण बैंक खाता समेत संचालन नभएको जानकारी दिए । विगत चार महिनादेखी विद्यालयमा कार्यरत दुई शिक्षक र एक जना कार्यालय सहायकले तलब खान र संचयकोष दाखिला गर्न पाएका छैनन् । 
नयाँ शैक्षिक सत्र लागु भएको दुई महिना पुग्न लागेको छ । सरकारले बैशाख पहिलो साता भित्रै विद्यार्थीको हात हातमा निशुल्क पाठ्यपुस्तक पु¥याइसक्ने दाबी पनि गरेको छ । तर, यस विद्यालयमा अध्ययनरत एउटै पनि विद्यार्थीको हातमा सो पुस्तक पुग्न सकेको छैन् ।
यस विद्यालयमा दुई शिक्षक र एक कार्यालय सहयोगि हाल कार्यरत छन् । कहिले काही कार्यालय सहयोगि समेत कक्षा लिने गर्दछन् । कार्यालय सहयोगि शिवनारायण मण्डलले आफू नियमित विद्यालय खोल्ने गरेको तर, विद्यार्थी कम आउने गरेका कारण चाडै नै बन्द गर्ने गरेको स्वीकार गर्छन् । 
यता विद्यालय हाताभित्रको मैदान र कक्षा कोठा प्रवेश गर्ने द्वार नै छेक्ने गरि वडा अध्यक्ष मण्डलले आफ्नो टोलको सडक कामका लागि झिकाएका बालुवा, गिटी र माटो थुपारेकाले पठनपाठ्न प्रभावित बनेको छ । 
यसैबीच सो विद्यालयमा देखिएको समस्यालाई लिएर शिक्षक पैकराको नेतृत्वमा एक टोलीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई निवेदन बुझाएका छन् । निवेदन पढेर चकित परेका प्रजिअ पौडेलले तत्कालै समस्या समाधानका लागि प्रक्रिया अघि बढाउन जिल्ला शिक्षा विकास तथा समन्वय इकाई समितिलाई पत्राचार गरेको छ । 
यता वडा अध्यक्ष मण्डलले टोलमा सडक ग्राभेलका लागि सो बालुवा, गिटी र माटो ल्याएको बताएका छन् । उनले तत्काल ठाउँ नहुँदा विद्यालयमा राखिएको र दुई चार दिनमै हटाउने बताएका छन् । विद्यालयमा राजनीति र हस्तक्षेपको कुरा भने उनले अस्विकार गरेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट