News Category 2070/03/08

कुटपिट गर्नेलाई कार्वाहीको बदला प्रहरीले संरक्षण दियो ः पीडित महिला

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ७ असार ।
आफुलाई कुटपिट गर्ने कथित उपल्लो जातका व्यक्तिहरुलाई कार्वाही गर्नुको साटो प्रहरीले संरक्षण दिएको एक दलित महिलाले दुखेसो पोखेकी छिन् ।
पीडित महिलाले शुक्रबार राजविराजमा पत्रकार सम्मेलन गरी आफुलाई न्याय दिलाई दिन आग्रह समेत गरेकी छिन् ।
पुरानो रिसिबी साध्न स्थानीय उपल्लो जातका ब्यक्तिहरुले आफुलाई निर्घात कुटपिट गरी घाईते बनाएपनि प्रहरीले पिडकहरुलाई संरक्षण दिएको सप्तरीको जमुनी मधेपुरा गाविस–९ छपकी निवासी ३० बर्षीया राजकुमारी सरदारले दुखेसो पोखेकी हुन् ।
कुटपिट गर्ने बिरुद्ध जाहेरी दिन जाँदा समेत प्रहरीले उल्टै हप्काउँने र गाली ग्लौज गर्दै जाहेरी दर्ता गर्न नमानेको गुनासो पोख्दै राजकुमारीले पिडकहरुले आफै धम्काउने गरेकोले त्रासपुर्ण वातावरणमा बाच्नुपरिरहेको बताइएकी छिन् ।
आफ्नो ७ बर्षीय छोरा सुन्दर सरदारले आँप टिपेको निहुँमा गत जेठ ३१ गते विहान पहिल्लो पटक स्थानिय लक्ष्मी साह र सुनिता साहले आफुलाई कुटपिट गरेको र त्यसपछि आएका महेश साह, जितेन्द्र साह र हरि साहले कुटपिट गरेको राजकुमारीले बताईन् ।
उनले भनिन्–‘‘ उनीहरुको कुटाईबाट म बेहोस भएपछि प्रहरीले उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सगरमाथा अञ्चल अस्पताल पु¥यायो, त्यहाँ उपचार सम्भव नभएपछि बिराटनगर उपचारका लागि पठायो ।”
कुटपिटबाट टाउको र ढाड गम्भीर चोट लागेको तथा हात भाँचिएको उनको भनाई छ । उपचारको क्रममा बिराटनगरमा रहदाँ समेत पिडकहरुले युवाहरुलाई परिचालन गरेर अनावश्यक मानसिक तनाब दिएको बताउँदै उनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत सई बिश्वनाथ यादवले समेत धम्काएको गुनासो गरिन् ।
जाहेरी दिन पटक पटक प्रहरी कार्यालय धाउँदा समेत घट्नाको आठ दिन सम्म पनि प्रहरीले जाहेरी गर्न नमानेको गुनासो गर्दै घट्ना लग्तै पक्राउ परेका बद्री नारायण साहलाई प्रहरीले छाडेको बताईन् ।
आफु रोजगारको सिलिसिलामा राजधानी काठमाण्डौमा रहेको बेला आफ्नी श्रीमतिमाथि स्थानियहरुले कुटपिट गरेको पिडीत राजकुमारीका पति रामकुमार सरदारले बताएका छन् ।
घाईते श्रीमतिको उपचारमा हालसम्म ५० हजार भन्दा बढी खर्च भईसकेको बताउँदै जिल्ला प्रहरीमा हिजो भएको पञ्चायतमा पिडकहरुले १५ हजार तिर्नुपर्ने सहमति भएपनि पिडकहरुले उक्त रकम नतिर्न मानेको र उल्टै धम्काउँदै आएको रामकुमारले बताएका छन् ।
करिब तीन बर्ष अघि आफ्नो भतिजो उमेश कुमार सरदारले स्थानिय उपल्लो जातकी रमिता साह प्रेम गरी भागेको निहुँमा ति युवतीका आफन्तहरुले अहिले सम्म आफुहरुलाई उत्पीडन दिदै आएको रामकुमारको भनाई छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट