News Category 2070/03/10

छुट्टाछुट्टै घट्नामा परी दुई जनाको मृत्यु, चार जना घाइते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ असार ।
छुट्टाछुट्टै घट्नामा परी सप्तरीमा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
चट्याङ् लागेर तथा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । करेन्ट लागेर, श्रीमान्को कुटाईबाट तथा दुर्घटनामा परी चार जना घाइते भएका छन् ।
भारदह गाविसमा आइतबार दिउँसो खसेको चट्याङ्ले एक जना बालिकाको ज्यान गएको छ । भैंसी चराउन कोशी व्यारेजतिर गएकी बालिकाको दिउँसो २ बजेतिर चट्यांगमा परी मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारदह गाविस १ निवासी सहदेव मुखियाकी छोरी पुजन रहेकी छन् । १२ बर्षीया उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराज पठाइएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
यस्तै मानराजा गाविसमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मानराजा गाविस ५ का बालकुमार यादव छन् । ५५ बर्षीय यादवको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मानराजा ४ बस्ने नन्दी लाल चौधरीले फुलकाहा गाउँबाट खेतमा पानी लगाउन ल्याएको बिजुलीको तार हटाई जोत्ने क्रममा घर नजिकै पानी तान्ने मोटरको नाङ्गो तार छुन जाँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
तार तान्ने चौधरी फरार भएको र खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।
उता बिषहरिया गाविस ६ बस्ने वर्ष ४५ का लालु साह करेन्ट लागेर गम्भीर घाइते भएका छन् । फर्सेठ गाविसमा विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागी उपचारार्थ सगरमाथा अञ्चल अस्पतालमा ल्याएकोमा अवस्था गम्भिर रहेकाले थप उपचारको लागि घोपा क्याम्प धरान लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै मानराजा २ निवासी देवनारायण प्रमाणीले आफ्नै श्रीमतिलाई निर्घात कुटपिट गरेका छन् । प्रमाणीले आफ्नी श्रीमती २४ बर्षीय राजसेवी राउतलाई घरायसी वादविवादका कारण कुटपिट गरेको प्रहरीले जनाएको छ । घाइते राजसेवीको यूनिक अस्पताल रायपुरमा उपचार भइरहेको छ ।
त्यस्तै आइतबार सप्तरीको भारदह गाविसमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
राजविराजबाट पोर्ताहातर्फ जाँदै गरेको मोटरसाइकलले भारदह ५ मा एक व्यक्तिलाई ठक्कर दिदैं दुर्घटना भएको हो । उक्त दुर्घटनामा भारदह ५ निवासी पैदलयात्री ५५ बर्षीय दशन मुखिया र मोटरसाइकल चालक पोर्ताहा गाविस निवासी महेन्द्र यादव घाइते भएका छन् ।
घाइते भएका दुबैलाई उपचारका लागि विराटनगर पठाइएको तथा ठक्कर दिएर दुर्घटना भएको को७प २११० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय भारदहमा राखिएको भारदह सहकर्मी गंगा प्रसाद साहले जानकारी गराउनुभएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट