News Category 2077/11/06

तिलाठीमा अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु

दैनिक समाचारदाता

तिलाठीमा अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु

दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
    सप्तरीको तिलाठीमा बिहीबारदेखी स्व. साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा ११ औं अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु भएको छ । 
    तिलाठी कोइलाडी गाउँपालिका १ स्थित विद्यालय प्राङ्गणमा सुरु भएको प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका २० महिला तथा ६२ पुरुष खेलाडीहरुको सहभागिता रहेको छ । 
    पहिलो दिन नेपाली पहलमानहरुले पुरुषतर्फका सबै प्रतिष्पर्धा जितेका छन् भने महिलातर्फ भएको एक खेलमा भारतीय खेलाडी बिजयी भएका छन् । 
    बि.स. २०४२ सालमा राजतन्त्र बिरुद्धको आन्दोलनमा ज्यान गुमाएका तिलाठी निवासी स्व. साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा आयोजित प्रतियोगिता चार दिनसम्म चल्ने आयोजक समितिले जनाएको छ । 
    सरस्वती पूजनोत्सव तथा बसन्त पंचमीको मेलाको अवसर पारेर विगत ११ वर्षदेखी तिलाठीमा नियमित पूजा तथा मेला समितिद्वारा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिताको आयोजना गरिदै आएको छ । 
    गाउँपालिका, स्थानियवासी तथा नेपाल पर्यटन बोर्डको सहयोगमा संचालित प्रतियोगिताको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले उद्घाटन गरे । 
    उद्घाटन गर्दै मन्त्री साहले देशकै प्रतिष्ठा बढाउने खेलकुदमा लागेका खेलाडीहरुका लागि राज्य पक्षबाट उचित सुविधा र प्रोत्साहन दिन नसकिरहेको अवस्थामा पनि प्रदेश सरकारले खेलाडीहरुको मनोबल बढाउन विभिन्न कार्यक्रम बनाएको जानकारी दिए । 
    वडा अध्यक्ष दिनेश्वर मिश्रले परम्परागत रुपमा हुँदै आएको कुस्ती खेलप्रति अहिले पनि जनमानसमा निकै लोकप्रियता रहेको बताए ।
    वडा अध्यक्ष मिश्रकै अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्व. मिश्रकी आमा चपलादेवी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, जसपा प्रदेश २ का मुख्य सचिव शम्भु झालगायतको पनि उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट