News Category 2071/03/03

वेगवानी दम्पत्तिको हत्यामा संलग्न दुई जना सार्वजनिक

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २ असार । 
सप्तरीको हनुमाननगरमा जेठ २२ गते राती हत्या गरिएका कपडा ब्यापारी वेगवानी दम्पत्तिको हत्यामा संलग्न दुई जनालाई सोमबार सप्तरी प्रहरीले सार्वजनिक गरेको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा सुनसरी जिल्ला श्रीपुर जब्दी गाविस ७ निवासी ३५ वर्षिय मोहम्मद हैदर अली र सोही ठाउँ निवासी २४ वर्षिय मोहम्मद कैयुम मियाँलाई वेगवानी दम्पत्तिको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरि सार्वजनिक गरेको हो । 
पक्राउ गरि सार्वजनिक गरिएकाहरुबाट १३९ ग्राम विभिन्न सुनका गहनाहरु, १० किलो चाँदीका गहनाहरु, एक थान कटुवा पेस्तोल, दुई थान गोली, हत्यामा प्रयोग गरिएको पिलास, रड, बन्चरो, पेचकस, रिन्च, एनाईसथेटिक ईथर, दुई थान अनटेस्ट मोटरसाइकल, दुई थान मोबाइल बरामद गरिएको छ ।  
सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले सार्वजनिक गरेका बाहेक अन्य पाँच जनाको हत्यामा संलग्नता रहेको जानकारी दिनुहुँदै ती सबैलाई चाँडै नै पक्राउ गरिने बताउनुभयो । 
यसरी अन्य अभियुक्तहरुमा सुनसरीको हरिपुर ७ भण्टाबारी निवासी २३ वर्षिय सलिम भनिने अलाउद्दिन मियाँ, श्रीपुर ७ खुरयाई निवासी २४ वर्षिय सबविर मियाँ, भण्टाबारी निवासी २५ वर्षिय ईनरदेव कामत, सप्तरीको भारदह निवासी ३५ वर्षि बब्लु मण्डल र सप्तरी निवासी नाम नखुलेको २४ वर्षिय व्यक्ति रहेको प्रहरीले जनाएको छ । 
वेगवानी दम्पत्तिको हत्यापछि गरगहना लुटपाट गरि ती व्यक्तिहरुले सुनसरीको इनरुवा नगरपालिका १ निवासी हाल लौकही गाविसमा पुष्पाञ्जली ज्वेलर्सका पसल धनी सुबोध स्वर्णकारलाई बिक्रि गरेको प्रहरी उपरिक्षक अमात्यले जानकारी दिनुभयो । 
गत जेठ २२ गते राति सप्तरीको हनुमाननगर ५ निवासी ५५ वर्षिय प्रेमसुख वेगवानी र निजकी ५२ वर्षिया श्रीमती सरोजदेवी वेगवानीको घरमा सुतिरहेको अवस्थामा घाँटी र टाउकोमा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो ।  
व्यापारी वेगवानीको कपडा व्यवसायी बाहेक गरगहनाहरु बन्धक राखि रकम दिने कार्य समेत रहेको स्थानियहरुले बताएका छन् । 
यसैबीच घटनाको बिरोधमा गठित संघर्ष समितिका संयोजक हेमन्त जैनले सोमबारदेखी सम्पूर्ण आन्दोलनका कार्यक्रम समाप्त भएको जानकारी दिनुभएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट