News Category 2071/03/04

बयान फेरेपछि पीडित नै थुनामा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ जेठ । 
बलात्कारको उजुरी दिएकी एक महिला नै सोमबार थुनामा परेकी छिन् । 
अदालतमा बयान फेरेको आधारमा पीडित र उजुरीकर्ता उनकी आमालाई झुठो उजुरी दिएको आरोपमा जिल्ला अदालत सप्तरीले एक महिना कैद र रु. दुई हजार जरिवाना गरेको अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका सप्तरीको भंगहा गाविस ४ का २२ वर्षीय रमेश कुमार चौधरी र २३ वर्षीय सुनिल कुमार चौधरी धरौटीमा रिहा भएका छन् भने पीडित महिला आफै थुनामा परेकी हुन् ।
अदालतमा पीडित महिलाले आफूलाई ३÷४ जना युवकले समाती एक जनाले बलात्कार गरेको बताए पनि अदालतमा आरोपितहरुलाई नचिनेको भन्दै बयान फेरेपछि आरोपितहरुले अभियोग दाबीबाट सफाइ पाएको अदालतले जनाएको छ । 
पीडितले भंगहा गाविस ५ सबैयास्थित नर्सरी वनमा दाउरा लिन गएको बेला गत वैशाख १७ गते विहान आरोपितहरुले हात गोडा समाति मुख थुनी सो मध्ये रमेशले बलात्कार गरेको बताएकी थिइन् । 
घटनास्थलबाट अचेत अवस्थामा भेटिएकी पीडितको उद्धार गरी प्रहरीले उपचारार्थ गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज भर्ना गराएको थियो ।
पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी उजुरीका आधारमा गत वैशाख १७ गते आरोपितहरुलाई पक्राउ गरी प्रहरीले वैशाख १९ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।
श्रेस्तेदार दुलालले अदालतमा निरन्तर सुनवाइ भएकाले यो मुद्दा अदालतमा दर्ता भएको २२ औं दिनमै फैसला भएको जानकारी दिनुभयो ।
जिल्ला न्यायाधीश कमल प्रसाद पोखरेलको आदेशमा आरोपितहरुमध्ये रमेश जेठ १२ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा थिए भने सुनिल रु. २० हजार धरौटी राखेर पुर्पक्षमा थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट