News Category 2071/03/12

जंगली हात्तीका कारण कोशी तटबन्धहरु जोखिममा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ असार । 
कोशी नदीको पुर्वी तथा पश्चिमी तटबन्धको मर्मत सम्भार कार्य प्रभावित भएको छ । 
दर्जनौं जंंगली हात्ती कोशी नदीको पूर्वी र पश्चिमी तटबन्धमा निस्किने गरेकाले मर्मत सम्भारमा खटिने कर्मचारीहरु बाँधमा आवत–जावत गर्न डराएपछि मर्मत सम्भार कार्य प्रभावित भएको हो । 
यता बर्षायाम लागेपछि कोशी नदीमा पानीको सतह बढ्दै गएको र मर्मत सम्भार कार्य हुन प्रभावित भएपछि बाँध क्षतिग्रस्त भई ठूलो संकट आउने डरले सप्तरी र सुनसरीका बासिन्दा त्रसित बनेका छन् । 
कोशी योजना कुसहा डिभिजनका ईन्जिनियर संजय कुमारले कोशी नदीमा पानीको सतह बढ्दै गएपछि जोखिम बढ्दै गएको बताउनुभयो । उहाँले जंगली हात्ती बाँधमा निस्कदा गस्ती गर्न समस्या हुँदै आएको भन्नभयो । दुई दिन अघि सुनसरीको मधुवनस्थित डिभिजनको कैम्प नै भत्काएपछि कर्मचारीहरुलाई बस्नै समस्या भएको उहाँले जानकारी दिनुभयो । 
सो क्षेत्रमा कहिलेकाहि दिउँसै पनि दर्जनांैको संख्यामा जंगली हात्तीको समुह बाँधमै उभिएर बाटो रोक्ने गरेको छ । ईन्जिनियर कुमारले सोही दिन जंगली हात्तीको समुहले आरक्षले प्रकाशपुरमा निर्माण गरेको टुरिष्ट क्याम्पसमेत भत्काएको बताउनुभयो ।
बहुचर्चित कोशी सम्झौता अनुसार कोशी नदीको सम्पुर्ण नियन्त्रण भारत सरकारको जिम्मेवारीमा पर्छ । तर, कोशी क्षेत्रमा सुरक्षाको सबै ब्यवस्था मिलाउने जिम्मेवारी नेपाल सरकारको हो । सम्झौता अनुसार कोशी ब्यारेजको पूर्वतर्फ सुनसरी जिल्लामा पर्र्ने पूर्वी तटबन्धमा बाढीको समयमा खतरा बढी हुन्छ । 
पाँचबर्ष अघि सुनसरीको कुशाहामा कोशी बाँध भत्किदा ठुलो धन–जनको क्षति भएको थियो । त्यतिबेला पनि भारत सरकारले बाूध भत्किनुबारे तयार पारेको अध्यन प्रतिवेदनमा कोशी बन्यजन्तु आरक्ष र माओवादी कार्यकर्तालाई दोष देखाईएको छ । स्थानिय माओवादी कार्यकर्ताले भारतिय ठेकेदारलाई बाँधमा काम गर्न अवरोध गरेको र आरक्ष प्रशासनले ढुंगा लगायतका सामग्री ढुवानी गर्ने ट्रक लगायतका भारी सवारी साधन आरक्ष क्षेत्रमा सञ्चालनमा बाधा पु¥याउदा बाँधमा लागेको कटान नियन्त्रण गर्न नसकि भत्केर ठुलो क्षति ब्यहोर्नुपरेको प्रतिवेदनमा उल्लेख छ । 
जुन १५ देखि सेप्टेम्बर १५ सम्म बाढीको समय हुन्छ । यतिबेला कोशी योजनाका सबै कर्मचारीहरु उच्च सतर्कता अपनाएको हुन्छ । तर, आरक्ष क्षेत्र भित्र आवत–जावतमै समस्या भएपछि बाढी आएर कटान लागेपछि नियन्त्रण गर्न समस्या रहेको कोशी योजनाका अधिकारीहरुको गुनासो छ । 
सुनसरी जिल्लामा पर्ने ३० किलोमिटर लामो पूर्वी तटबन्धको हरिपुरदेखि प्रकाशपुरसम्मको १५ किलोमिटर कोशी बाँध कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्र भित्र पर्छ । स्पर नम्बर ६ देखि २४ दशमलव ४८ सम्म आरक्ष क्षेत्र भित्र करिब ३ दर्जन स्परहरु पर्छ । ०६५ साल भदौमा पनि आरक्ष क्षेत्र भित्रकै १२ किलोमिटरमा बाँध भत्केको थियो । 
भारतीय अधिकारीका अनुसार यसबर्ष पनि आरक्ष भित्रै पर्ने १२ किलोमिटरदेखि १६ किलोमिटरसम्म कोशी बाँध नजिकबाट बग्दै छ । यस्तै स्पर नम्बर १७ दशमलव ३५, २३ दशमलव ७५ लगायत एक दर्जन स्परमा अहिले थोरै बाढी आउँदा पनि पानीको दवाब बढ्ने गरेको छ । भारतिय अधिकारीहरु हात्तीलाई कारण बनाउँदै तटबन्ध र स्परहरुको निगरानीमा ढिलासुस्ती गरेको छ । 
बाढीको दवाब भएको स्परहरुको सुरक्षामा दिन–रात भारतिय अधिकारीहरुलाई खटाईएको भएपनि हात्तीकै कारण समस्या भएको उनीहरु बताउँछन् । ‘बाढीको समयमा कोशी योजनाको अधिकारी तथा ठेकेदार कम्पनीहरुलाई दिन–रात आवज–जावत गर्नुपर्छ, हात्ती नियन्त्रण नभए बाढी नियन्त्रणको काममा ठुलो समस्या आउनेछन्’, कोशी योजनाका ईन्जिनियर कुमारले भन्नुभयो । 
यस्तै सप्तरीतर्फ पर्ने पश्चिमी तटबन्धको समस्या पनि उस्तै छ । पश्चिमी तटबन्ध सप्तरीको भारदहबाट शुरु भई पथरीसम्मको १३ किलोमिटरको तटबन्ध छ । यस तटबन्ध अन्तर्गत बैरवास्थित ३ दशमलव ५६, ७ दशमलव ३५ र ११ दशमलव ६० मा कटानको सम्भावना बढी छ । 
पथरीस्थित आरक्ष सुरक्षार्थ नेपाली सेनाको क्याम्प नजिकै कोशीको सहायक नदी त्रियुगाले अहिले नै कटान थालिसकेको छ । तर, आरक्ष क्षेत्रबाट निस्किने जंगली हात्तीको डरले भारतिय अधिकारीहरु नियन्त्रण गर्न आउन डराउने गरेको स्थानिय फजिल मियाँको भनाई छ ।
यता कोशी टप्पु बन्यजन्तु आरक्षका प्रमुख संरक्षक अधिकृत गंगाराम सिंहले भारतको असाम जंगलबाट आएको जंगली हात्तीले यस क्षेत्रमा समस्या उत्पन्न गरेको स्वीकार्नु भयो । उहाँले भन्नुभयो, ‘आरक्षको जंगलमा हात्ती नभएपनि बाहिरबाट आएका यी हात्तीहरु आरक्षको वरिपरिको ग्रामिण भेकमा पसेर पनि जनधनको क्षति गर्ने गरेको छ । बाँधमा निस्किदा मानिसलाई आवत–जावतमा समस्या हुनु स्वाभिक हो तर, यसलाई नियन्त्रणको कुनै ठोस उपाय पनि र्छैन ।’ ‘जंगली हात्तीलाई मार्न पाईदैन’, उहाँले “गाउँमा ननिस्किन सोलार फेन्सिङ्ग गरिएको छ तर, आरक्षको बिचबाटै कोशीको बाँध गएकाले जंगली हात्ती नियन्त्रण गर्न सम्भव छैन” भन्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट