News Category 2071/04/17

शिविरमा ६ सय ६३ जना बालबालिकाको जन्म दर्ता

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १६ साउन । 
सपोर्ट नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल (एससिडिसी नेपाल) को आयोजनामा सप्तरीको ५ गाविसमा संचालित जन्मदर्ता अभियान शिविरमा ६ सय ६३ जनाको जन्म दर्ता भएको छ । 
जिल्लाको बेल्ही चपेना, ब्रहमपुर, गम्हरिया प्रवाहा, अर्नाहा र पत्थरगाडा गाविसमा सम्पन्न सो शिविरमा बेल्ही चपेना गाविसमा सबैभन्दा बढी तथा पत्थरगाडामा सबैभन्दा कम जन्म दर्ता भएको जनाइएको छ । 
बेल्ही चपेना गाविसमा १६७ बालक र १३७ जना बालिका, अर्नाहा गाविसमा ४० जना बालक र ३५ जना बालिका, ब्रहमपुरमा ७० जना बालक र ५६ जना बालिका, गम्हरिया प्रवाहा गाविसमा ६१ जना बालक र ५३ जना बालिका र पत्थरगाडा गाविसमा २८ जना बालक र १६ जना बालिका गरि जम्मा ६ सय ६३ जनाको जन्म दर्ता भएको कार्यक्रम संयोजक राजेश झाले जानकारी दिनुभयो । 
यस्तै बेल्ही चपेना गाविसमा १६ जना दलित, २०३ जना जनजाति, २३ जना मुस्लिम र ६२ जना पिछडावर्ग, ब्रहमपुर गाविसमा १५ जना दलित, ५२ जना जनजाति, २० जना मुस्लिम र ३९ जना पिछडावर्ग, गम्हरिया प्रवाहा गाविसमा ९ जना दलित, ३१ जना जनजाति र ७४ जना पिछडावर्ग, अर्नाहा गाविसमा ७ जना दलित, २५ जना जनजाति, १२ जना मुस्लिम र ३१ जना पिछडावर्ग तथा पत्थरगाडा गाविसमा ७ जना दलित, १५ जना जनजाति, ६ जना मुस्लिम र १६ जना पिछडावर्गको शिविरमा जन्म दर्ता भएको जनाइएको छ । 
खेतीपातिको समय र वर्षाका कारण जन्मदर्ता गराउन नआएकाले जन्म दर्ता अभियानमा कमी आएको एससिडिसीका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिनुभयो । जन्मदर्ता गराउनबाट वञ्चित रहेका बालबालिकाहरुको जन्मदर्ता गराई उनीहरुको भविष्य सुनिश्चित गर्ने उद्देश्यले जन्मदर्ता अभियान सञ्चालन गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
सो शिविर साउन ६ गतेदेखी १५ गतेसम्म ती पाँच गाविसमा संचालन भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट