News Category 2071/05/23

रोकिएन् महिलामाथीको हिंसा बोक्सीको आरोपमा पुनः एक महिला कुटिइन्

दैनिक समाचारदाता

शुभ नारायण यादव
राजविराज, २२ भदौं । 
सरकारले बोक्सी प्रथा अन्त्यका लागि विभिन्न कानुनहरु ल्याए पनि सप्तरी सहित तराईका जिल्लाहरुमा बोक्सीको आरोपमा कुटपिट गर्ने क्रम अझै रोकिएको छैन । 
यसैक्रममा सप्तरीको रामपुर जमुवा गाविस ७ की एक महिलालाई कथित बोक्सीको आरोपमा उनका आफनै छिमेकीहरुले निर्घात कुटपिट गरेका छन । 
स्थानीय बद्री मण्डलकी ४० वर्षिया श्रीमति अशिया देवी मण्डललाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको पीडितले बताएकी छिन । 
उनलाई छिमेकीहरु हरि मण्डल, उनकी श्रीमति रुकमणि देवी मण्डल, बुहारी सरिता देवी मण्डल, छोरी बबिता कुमारी मण्डल सहितकाहरुले तिमी बोक्सी हो भन्दै निर्घात कुटपिट गरेको बताईन । 
घरायसी विवादलाई लिएर उनीहरुले आफुलाई झुठो आरोप लगाएर मेरो श्रीमतिलाई पटक पटक कुटपिट गर्दै आएको पीडितका श्रीमान बद्री मण्डलको भनाई  छ । अरुको घर तथा खेतमा मजदुरी गरी खाने यी दलित महिलालाई उनीहरुले पटक पटक बोक्सीको झुठो आरोपमा कुटपिट गर्दै आएका छन । 
दुई छोरा र तीन छोरी रहेका मण्डललाई उनीहरुले एक दर्जन भन्दा बढी पटक बोक्सीको आरोपमा कुटपिट गरेको पीडितको श्रीमानको आरोप छ । पछिल्लो पटक शुक्रबार उनीहरुले मण्डल श्रीमान् श्रीमतीमाथि एकाएक कोदालोले हिर्काएर निर्घात कुटपिट गरेका थिए ।
कुटपिटबाट पीडित महिलाको शरिरभरी चोट रहेको छ भने उनको हाल राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको छ । 
यसैबिच आफुलाई पटक पटक कथित बोक्सीको झुठो आरोप लगाएर कुटपिट गर्दै आएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी समेत दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट