News Category 2071/08/12

छाडा पशु चौपाया नियन्त्रणमा लाग्यो नगरपालिका

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ मंसिर ।
नगरमा बढ्दो छाडा पशु चौपायाहरुको नियन्त्रणका लागि राजविराज नगरपालिका सक्रिय भएको छ । सोही क्रममा राजविराज नगरपालिकाले बिहीबार करिब एक दर्जन चौपायालाई नियन्त्रणमा लिएको छ । 
शहरमा बढ्दो दुर्घटना तथा शहर कुरुप बन्दै गएको भन्दै राजविराज नगरपालिकाले केही दिन अगाडी सार्वजनिक सुचना प्रकाशन गरी छाडा पशु चौपाया  नियन्त्रणका लागि अनुरोध गरेको थियो । सोही अन्तर्गत बिहीबार नगरपालिकाले छाडा गाई वस्तु नियन्त्रण गरी काँजी हाउसमा राखेको नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले जानकारी दिनुभयो । 
उहाँले यसअघि शहरको विभिन्न भागमा आधा दर्जन सुगुंर मारिएको तथा केही छाडा बाख्राहरुलाई नियन्त्रणमा लिई जरिवाना समेत असुल गरेको बताउँनुभयो । 
नियन्त्रणमा लिइएका गाईबस्तुहरु चौपायाधनिले २४ घण्टा भित्र लगे रु. २ सय जरिवाना तिर्नुपर्ने बताउँदै सो समय अवधिमा नलगेमा प्रति दिन रु.५० को दर थप जरिवाना तिर्नु पर्ने उहाँले जानकारी दिनुभयो ।
यसैगरी कार्यकारी अधिकृत गुरुङ्गले काँजी हाउस निमार्णका लागि छुट्टै बजेट छुटयाइएको जानकारी दिदै गत आर्थिक वर्ष यसका लागि रु. ७० हजार निकासा भएको बताउनुभयो । हाल काँजी हाउसका लागि नगरपालिका कार्यालय भित्रै एक स्थानमा बनाइएको छ । 
यस्तै उहाँले हालै सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमबाट पनि नगरबासीहरुले छाडा चौपाया सम्बन्धि ब्यापक गुनासो गरे अनुसार नै यसलाई नियन्त्रण गर्न नगरपालिका सक्रिय भएको स्पष्ट पार्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट