News Category 2080/11/01

समस्याको समाधान  सरुवा होइन

दैनिक समाचारदाता

    सप्तरीका अधिकांश पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृतहरु ५÷६ महिनाको अवधीमै सरुवा हुने प्रवृती बढेको छ । जिल्लामा ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरि १८ वटा पालिकाहरु छन् । ती मध्ये राजविराज, कंचनरुप, डाक्नेश्वरी, शम्भुनाथ, हनुमाननगर कंकालिनी नगरपालिका तथा तिरहुत, रुपनी, राजगढ, विष्णुपुर, तिलाठी कोइलाडीलगायतमा चौमासिक रुपमा अधिकृतहरु फेरिने गरिएको देखिएको छ । प्रत्येक ५÷६ महिनामै अधिकृत फेरिनु पक्कै पनि सकारात्मक पक्ष होइन् । अधिकृत फेरिनुले जनताको कामकाजका साथै विकासीय कार्य समेत प्रभावित हुन पुग्छ । 
    अधिकांश पालिकामा जनप्रतिनिधि र कर्मचारीबीच उत्पन्न हुने मतभेदकै कारण ती अधिकृतहरुको सरुवा हुने गरेको पाइएको छ । कतिपय पालिकाहरुमा अहिले तोकिएको दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत नआउँदा निमित्तकै भरमा संचालन गर्नुपरिरहेको अवस्था छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाहरुमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत पठाउँदा पनि जनप्रतिनिधि र ती अधिकृतबीच तालमेल नहुँदा सरुवा नै गरिने प्रवृतीले जनतामाँझ नराम्रो सन्देश दिइरहेको छ । अबको केही दिनमै विकासीय कार्यहरुका लागि विभिन्न उपभोक्ता समिति गठन तथा टेण्डर लगाउने समय रहेकोले कामकाजका लागि अख्तियारी आवश्यक पर्छ । तर, यसरी अधिकृत फेरिदै जाँदा ती कामकाजहरु पक्कै पनि प्रभावित हुनपुग्छ । यसरी कामकाज प्रभावित बन्न पुग्दा यसको प्रत्यक्ष असर विकासीय कार्यमा पर्न जान्छ । के अधिकृत फेरिदैमा पालिकाहरुमा कामकाज पारदर्शी र सक्षम भएको सन्देश दिन्छ त ! जनप्रतिनिधिहरु आफूअनुकुलको वातावरणमा कामकाज नभएकोले अधिकृतको सरुवा गर्न लागिपरेहका त होइनन् ! यो अहिले सम्पूर्ण जनताको जिज्ञास रहेको छ । 
    कुनै पनि पालिकामा अधिकृतको सरुवा गरेर समस्याको निराकरण हुँदैन् । यसका लागि जनप्रतिनिधि र कर्मचारीबीच सुमधुर सम्बन्धको आवश्यकता पर्छ । दुबैबीच आपसी समझदारी र  हातेमालोको आवश्यक छ । तसर्थ सरुवा समस्याको समाधान नभएर सहमति, सहकार्य र सम्वादको माध्यमले समस्या समाधान गर्नेतर्फ सबै पालिका अग्रसर हुनु अहिलेको आवश्यकता हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट