News Category 2080/12/02

जन्तीका वासका लागि कोठा नदिएको  निहुँमा पसल जलाइएको भन्दै उजुरी

दैनिक समाचारदाता

जन्तीका वासका लागि कोठा नदिएको  निहुँमा पसल जलाइएको भन्दै उजुरी

दैनिक समाचारदाता
राजविराज, २ चैत ।

    जन्तीको वासको लागि कोठा प्रयोग गर्न नदिएको निहुँमा छिमेकीले पसल नै जलाइदिएको भन्दै एक पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन् । 
    ती परिवारले आफुहरुलाई उठीबास नै गराउने गरी गरिएको आगजनी घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कडा कारवाही गराउन पहलका लागि अधिकारकर्मी र संचारकर्मीसँग आग्रह समेत गरेका छन् । 
    सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी महेन्द्र साह र उनका परिवारजनले न्याय खोज्दै शुक्रवार राजविराज आएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका हुन् । उक्त आगजनी घटनामा संलग्न रहेका दावीका साथ सोही वडा निवासी राकेश साह लगायत विभिन्न व्यक्ति विरुद्ध किटानी जाहेरी दिइएको छ ।
    पीडित महेन्द्र साहद्धारा दिइएको जाहेरीमा जन्तीको वासको लागि मागेको कोठा नदिएको निहुँमा छिमेकी २५ वर्षिय दिपु भन्ने राकेशको अगुवाईमा फागुन २८ गते सोमबार मध्यराती तोडफोड र पसलमा आगजनी गरी लाखौंको सम्पति नष्ट गरिएको उल्लेख छ । उनले उक्त घटनापछि राकेश गाउँबाट फरार रहेको समेत जनाएका छन् । पीडित साहका अनुसार राकेशले आफ्नो आफ्नो बहिनीको विवाहमा फागुन २२ गते आउने जन्तीको बासका लागि २ वटा सटर भएको कोठा माग गरेका थिए । तर, फागुन २३ गते आफ्नो जेठो छोरा सन्तोषको पनि विहे तय गरिएकाले कोठा दिन नसकिने बताएपछि राकेश आक्रोशित भए फर्किएको महेन्द्रले सुनाए । सोही निहुँमा फागुन २५ गते राती रक्सीले मातेर आएका राकेशले प्रिती भोजमा आउने पाहुनाहरुका लागि सजाएर राखिएको दर्जनौं टेबुल र कुर्सी तोडफोड गरी धम्क्याउँदै फर्केको महेन्द्रले सुनाए । 
    सो घटनाको भोली पल्ट फागनु २६ गते ज्वाईको निधन भएको खबर आएपछि आफुहरु स–परिवार भारतको झन्झारपुर पुगी फागुन २७ गते घर फर्कि आएको र सुतिरहेका बेला मध्यराती पेट्रोल छर्की आगो लगाइएको उनले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन् ।
    उनले आगलागीबाट आफ्नो मदिरा पसलमा रहेको ५५ हजार ३ सय ६० नगदका साथै फर्निचर, मदिरा, चिसो पेयपदार्थ, भाडावर्तन र भवन सबै जलेर नष्ट भई १२ लाखभन्दा बढीको क्षति भएको जाहेरीमा उल्लेख गर्दै दोषीलाई अविलम्ब पक्राउ गरी क्षतिपूर्ति र कडा कार्वाहीको माग गरेका छन् । 
    यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले घटनास्थलको प्रकृति हेर्दा प्रारम्भिक चरणमा आगजनीनै भएको देखिएपनि यसबारे सुक्ष्म अनुसन्धान भइरहेको र अनुसन्धान सकिएपछि सत्य तथ्य सार्वजनिक गर्ने जनाएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट