News Category 2070/04/03

राजविराजमा पहिलो पटक बायोग्यास सहितको शौचालय संचालन

दैनिक समाचारदाता


नवीनकुमार गुप्ता
राजविराज, २ साउन ।
राजबिराज नगरपालिकाको सहयोगमा तथा सबल नेपाल राजबिराजको आयोजनामा राजविराज १ स्थित मासु हटियामा निर्माण भएको बायोग्यास सहितको शौचालय बुधवारबाट संचालनमा आएको छ । सप्तरीमा वायोग्यास प्लान्ट जडन गरिएको यो पहिलो हो ।
अत्यधिक फोहोरमय भएको राजविराज नगरपालिकाको फोहोर अब यही बायोग्यास सहितको शौचालयमा संकलित भई फोहोरलाई मोहरमा परिवर्तन गरिने काम हुनेछ ।
फोहोरबाट ग्यास उत्पादन गरी खाना पकाउने र विजुली बाल्ने काम हुने राजविराज नगरपालिकाका कार्यकारी अधिकृत देवराज चौलागाईले जानकारी दिनुभयो ।
उहाँले खसीबोका, सुँगुर, कुखुराको भुँडी, सुली, कुहिएर फ्याकिएको तरकारी तथा अन्य फोहोरसँगै गोबर, दिसापिसाव समेतको प्रयोग गरी वायोग्यास उत्पादन हुने जानकारी दिनुभयो । यो ग्यासले खाना पकाउनुदेखि लिएर विजुली बत्ति समेत बाल्न सकिने उहाँको कथन छ ।
वायोग्यास प्लान्टको निर्माणले वातावरणीय उत्सर्जन घटाउन तथा फोहोरमैलाको समुचित व्यवस्थापन गरी वातावरणीय स्वच्छता कायम गर्न सकिने बताउँदै अधिकृत चौलागाइँले यसले फोहोर हटाउनमा मद्दत मिल्ने बताउनुहुन्छ ।
राजविराज नगरपालिकाको सहयोगमा सवल नेपालले निर्माण गरेको वायोग्यास प्लान्टको कुल लागत रु. ४ लाख ९५ हजार रहेको छ । प्लान्ट बनाइएको ठाउँमा चार वटा शौचालय समेत निर्माण गरिएको छ । यो शौचालयलमा जम्मा हुने दिशापिसावसहितका बिकारको माध्यमले समेत ग्यास बन्न सजिलो हुने सवल नेपालका प्राबिधिक प्रमुख अशोक कुमार साहले बताउनुभयो ।
उहाँले संचालन भएकै दिन २ सय भन्दा बढी मानिसले शौचालय प्रयोग गरेको जानकारी दिदै हाललाई दिसा गरे वापत ंरु. २ र पिसाव निशुल्क राखिएको बताउनभयो । मासु हाँट सँगै माछा हाँट तथा मुख्य हाँट बजार समेत रहेकोले त्यहाँबाट आएका फोहोरलाई संकलन गरि बायोग्यासको डोममा राखिने र सो डोम भरे पश्चात निस्कने ग्यासँलाई मासु हाँटमा दिईने साहले जानकारी दिनुभयो ।
यसअघि राजबिराज नगरपालिकाले सरसफाइ बिशेष बैठकबाट निर्णय गरे बमोजिम सबल नेपाललाई मासु हटियाको शौचालय तथा रुपनी बस स्टेण्डको शौचालय संचालनको जिम्मेवारी दिईएको थियो । जिम्मेवारी पाए पश्चात मासु हटियाको शौचालय संचालनमा आएको छ भने रुपनी बसपार्कको शौचालय मर्मत सम्भार भईरहेको र १० दिन भित्र संचालनमा आउने सबल नेपालका प्राबिधिक प्रमुख साहले जानकारी दिनुभयो ।
एक पटक प्लान्टमा ६० किलो गोबर र फोहोर हालेमा बन्ने ग्यासले ५ घण्टासम्म काम गर्ने र यसबाट उत्पादन हुने ग्यास नजिकै भएको मासु बजारका विक्रेताहरुले तत्कालका लागि उपभोग गर्ने साहको भनाई छ । खसीबोका तथा कुखुराको मासु तयार पार्न तातो पानीको आवश्यक्ता पर्ने र यो ग्यासले पानी तताउनका साथै बिभिन्न काम गर्न सकिनेछ ।
२५ घनमिटरको उक्त पलान्टबाट उत्पादन हुने ग्यासले आगो बाल्न र विजुली उत्पादन गर्न सहयोग हुनेछ भने प्लान्टबाट निस्किने लेदोमलले कम्पोष्ट मल उत्पादन गर्न सकिनेछ । यो मल खेतीबारीमा प्रयोग गरे धेरै नै फाइदा पुग्ने तथा माछा उत्पादनमा दानाको रुपमा समेत प्रयोग गर्न सकिनेछ । राजविराजमा भइरहेको प्लाष्टिक बाहेकको सबै फोहोर संकलन गरेर वायोग्यास उत्पादन गरिनेछ ।
विश्वास नगरपालिका र शहरोन्मुख क्षेत्रको फोहोर ठूलो समस्या भइरहेको बेला ‘फोहोरबाट मोहोर’ उत्पादन गर्न सक्ने गरी नवीकरणीय ऊर्जा अनुदान नीति, २०६९ बनाएर अनुदानको व्यवस्था समेत गरिएको छ । अन्य जिल्लामा वायोग्यासप्रति सबैको रुची बढ्दै गएपनि सप्तरी जिल्लामा बन्न सकिरहेको थिएन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट