News Category 2082/06/06

सुरु भयो वडा दशैं तर, छैन् रौनक

दैनिक समाचारदाता

सुरु भयो वडा दशैं तर, छैन् रौनक

दैनिक समाचारदाता
राजविराज, ५ असोज ।

    आजदेखी नेपालीहरुको महान चाड वडा दशैं सुरु भएको छ । तर, यस पटकको दशैंमा रौनक भने देखिएको छैन् । झण्डै १२ दिन अघि मात्र जेनजीहरुले गरेको भ्रष्टाचारबिरुद्धको आन्दोलनका क्रममा ७५ जना सहादत भएका थिए । जसले गर्दा अहिले मुलुक शोकमा डुबेको छ । 
    सोही आन्दोलनकै कारण मुलुकको सत्ता नै परिवर्तन भएको छ । आन्दोलनकै क्रममा विभिन्न सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठानहरुमा तोडफोड, आगजनीपछी लुटपाटले अहिले मुलुकमा अस्थिरताको अवस्था छ । नयाँ सरकार निर्माणपछी सो आक्रान्त माहौलमा केही सुधार भएपनी सन्तोषजनक भने छैन् । यी यस्ता कारणले यस पटकको दशैंमा खल्लोपन आएको हो । 
    दशैंको पहिलो दिन आज घटस्थापन हो । यस दिन घर घरमा जमरा रोपिने गर्दछ । आजदेखी नवरात्री व्रत सुरु भएको छ । यता प्रसिद्ध शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता भगवती मन्दिरलाई दशैका लागि सिंगारिदै छ । यस पटक १५ देखि २० लाख सम्म भक्तजन आउने अनुमानसहित आवश्यक तयारी अन्तिम चरणमा पु¥याइएको छ । 
    छिन्नमस्ता भगवती मन्दिर संरक्षण सम्बद्र्धन समितिले लाखौ रुपैयाँ खर्च गरेर मन्दिर सिंगार्ने तथा सजावटसहित अन्य काम सुरु गर्दै तयारी अन्तिम चरणमा पु¥याएको हो । 
    दर्शनार्थीका लागि सहज पुजापाठ, सुरक्षा, पण्डाल, स्वच्छ खानेपानी, बासस्थल, बिद्युतिकरण र सजावट लगायतका काम धमाधम भईरहेको मन्दिर समितिका कार्यवाहक अध्यक्ष समेत रहेका पीठाधिश महाकान्त ठाकुरले जानकारी दिए । 
    तर मन्दिरसम्म पुग्ने बाटोको केही भाग अझै जिर्ण र खाल्डाखुल्डीको अवस्थामा रहेकाले अबिलम्ब उक्त सडकको स्तरोन्नतिका लागि सरकारबाट पहल हुनुपर्ने उनले माग समेत गरे । 
    उनले दर्शणार्थीको सुरक्षा र आपराधिक गतिबिधी नियन्त्रणका लागि यस पल्ट मन्दिर भित्र र बाहिर चारैतिर गरी कुल ३२ वटा सिसि टिभि क्यामरा जडान गरिएको बताए । 
    नेपाल तथा भारतका हिन्दु धर्माबलम्बी माझ ख्याति प्राप्त यस मन्दिरमा दशैका बेला लाखौं भक्तजन आउने गरेका छन् । 
    यस्तै जिल्लाकै हनुमाननगर कंकालिनी नगरपालिकास्थित कंकालिनी भगवती मन्दिर, राजविराजस्थित माँ चण्डि भगवती मन्दिर, राजदेवी मन्दिर लगायत अन्य स्थानमा रहेका भगवती मन्दिरहरु दशैंका लागि सिंगारिदै छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट