News Category 2070/04/27

सिरहा घटना छानबिनका लागि तीन सदस्यीय समिति गठन

दैनिक समाचारदाता


राजविराज÷सिराहाको सारस्वर गाविसमा भएको घटनाबारे छानबिन गर्न सरकारले पूर्वाञ्चल क्षेत्रीय प्रशासक शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
नेपाल प्रहरीका पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआईजी उपेन्द्रकान्त अर्याल र राष्ट्रिय अनुसन्धान विभागका पूर्वाञ्चल क्षेत्रीय कार्यालय प्रमुख पुष्करराज चापागाई रहने गरी छानबिन समिति गठन गरेको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
सो समितिले जिल्लाको सारस्वर गाविसमा भएको झडप, आगजनी र लुटपाट घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सात दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।  
स्थानीय प्रशासनले घटनास्थलमा आवश्यक सुरक्षा कारबाही गरी स्थितिलाई पूर्ण नियन्त्रणमा लिएको र हालसम्म २८ जनालाई पक्राउ गरिएको विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रालयका अनुसार घटनामा हालसम्म सात जना घाइते भएका र आगजनीबाट ११ वटा घरमा क्षति पुग्नुका साथै १७ वटा घरमा तोडफोड तथा लुटपाट हुन गएको छ । घाइतेहरुको सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको पनि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
नेपालमा सदियौँदेखि रहँदै आएको सामाजिक सद्भाव कायम राखी राख्न मन्त्रालयले सम्बन्धित सबैमा हार्दिक अनुरोध पनि गरेको छ ।  
गत सोमबार धनुषाबाट सिराहास्थित सारस्वरनाथ महादेवको मन्दिरमा दर्शन गर्न आएका बोलबम दर्शनार्थीलाई दुव्र्यवहार गरेको भन्दै बिहानैदेखि केही युवाको जमातले आक्रमण गर्न थालेपछि तनाव उत्पन्न भएको हो । 
यस्तै स्थितिलाई थप उत्तेजित हुन नदिई शान्ति सुव्यवस्था कायम राख्न जिल्ला प्रशासन कार्यालय सिरहाले प्रभावित क्षेत्रमा शुक्रबार अपराह्न ४ बजेदेखि शनिबार बिहान ४ बजेसम्म लागू हुने गरी निषेधाज्ञा (कफ्र्यू) जारी गरिएको थियो । 
अहिले यस गाउँमा थप झडप हुन नदिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यता घटनाबारे बुझ्न राष्ट्रिय मानवअधिकार आयोग, अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)लगायतका मानवअधिकारवादी सङ्घसंस्थाको टोली अहिले सारस्वर आइपुगेका छन् । 
यसैबीच मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सिराहामा शुक्रबार भएको दुखद् घटनामा आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ । 
धार्मिक, सामाजिक र सांस्कृतिक सु–सम्बन्ध भएको मुलुकमा जातीय वा धार्मिक विषयलाई लिएर कुनैपनि प्रकारको घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै उहाँले सामाजिक सद्भाव कायम राख्न र सो विषयलाई धार्मिक वा जातीय विषयवस्तुसँग नजोडी समाधान गर्नेतर्फ अग्रसर हुन सम्बद्ध सबैमा आग्रह गर्नुभएको मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 
सामाजिक जनजीवनमा कुनै प्रकारका असहमति, असमझदारी वा मतभिन्नता छन् भने त्यस्ता विषयलाई आपसी छलफल, वार्ता तथा कानुनी प्रक्रियाबाट समाधान गर्न सकिने भएकाले कुनैपनि विवादलाई धार्मिक वा जातीय विषयवस्तुसँग नजोड्नसमेत अध्यक्ष रेग्मीले आग्रह गर्नुभएको छ । 
अध्यक्ष रेग्मीले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न र यसप्रकारको दुखद घटना भविष्यमा नदोहोरिने र शुक्रबार भएको घटनाको यथाशीघ्र समाधान गर्नेतर्फ सम्पूर्ण स्थानीयलाई आह्वान गर्दै आगामी दिनमा सामाजिक एकता, सद्भाव र मैत्रीपूर्ण सम्बन्ध सुमधुर र प्रगाढ रहिरहने विश्वाससमेत व्यक्त गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट