News Category 2076/01/02

भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध

दैनिक समाचारदाता

भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध

नयाँ दिल्ली, २ वैशाख (रासस÷सिन्ह्वा÷एएफपी) ।
    आम निर्वाचन चलिरहेका बेला भारतमा दुई जना प्रभावशाली नेतालाई निर्वाचन प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ । 
    भड्किलो र निर्वाचन आचारसंहिता विपरित अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले भारतको उत्तर प्रदेशका दुई नेतालाई निर्वाचन प्रचारप्रसारमा प्रतिबन्ध लगाउने निर्णय सोमबार गरेको हो ।
    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टी (बीएसपी) की अध्यक्ष मायावतीलाई ‘घृणित अभिव्यक्ति’ दिएको भन्दै निर्वाचन आयोगले प्रतिवन्ध लगाइएको जनाएको छ । 
    आयोगका अनुसार योगीलाई तीन दिन र मायावतीलाई दुई दिन निर्वाचनसम्बन्धी कुनै पनि क्रियाकलापमा सहभागी हुन रोक लगाइएको छ ।
    उनीहरुलाई लगाइएको प्रतिबन्ध मङ्गलबार बिहानदेखि लागू हुने पनि आयोगले जानकारी दिएको छ ।
    उहाँहरुको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सर्वोच्च अदालतले उनीहरुका बारेमा जाँचबुझ गर्न आदेश दिएपछि निर्वाचन आयोगले उनीहरुलाई दोषी ठहर गर्दै कारबाहीस्वरुप प्रतिबन्ध लगाएको हो । 
    दलित समुदायकी मायावतीले प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी (भाजपा) हिन्दूवादी भएकाले मोदी र भाजपाको पक्षमा मतदान नगर्न मुस्लिमहरुलाई आह्वान गर्नुभएको थियो । 
    मायावतीको अभिव्यक्तिको प्रतिवाद गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले पनि भारतमा हिन्दू धर्मावलम्बीहरुको बाहुल्यता रहेको भन्दै धार्मिक सहिष्णुतामा असर पार्ने अभिव्यक्ति दिएको निर्वाचन आयोगले जनाएको छ । 
    भारतमा यही अप्रिल ११ देखि मतदान शुरु भएको छ भने आगामी मे १९ तारिखसम्म गरी सात चरणमा मतदान हुनेछ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट