News Category 2080/10/05

नेपालकै पहिलो टाउन प्लानिङ सहर ओरालो लाग्दै, व्यवस्थित गर्र्न जनप्रतिनिधि उदासिन 

दैनिक समाचारदाता

नेपालकै पहिलो टाउन प्लानिङ सहर ओरालो लाग्दै, व्यवस्थित गर्र्न जनप्रतिनिधि उदासिन 

नवीनकुमार गुप्ता
राजविराज, ५ माघ । 

    नेपालकै पहिलो टाउन प्लानिङ र पुरानो मध्येको एक राजविराज नगर जनप्रतिनिधिको प्राथमिकतामा कहिले पर्ने गरेको देखिएन् । फलस्वरुप आजसम्म पनि राजविराज नगर क्षेत्र व्यवस्थित हुन सकेको छैन् । 
    भारतको गुलाबी सहरको नामले प्रसिद्धि पाएको जयपुर सहरको नक्सामा आधारित राजविराज नगरपालिका (तत्कालिन राजविराज बजार) को टाउन प्लानिङ बि.स. १९९९ सालमा गरिएको भएपनि ८१ वर्ष भइसक्दा पनि टाउन प्लानिङले परिकल्पना गरेको सहर हालसम्म पनि व्यवस्थित हुननसकेको देख्दा यहाँका बासिन्दाहरु दिक्क मान्न थालेका छन् । 
    फोहर व्यवस्थापनको कुरा गर्ने हो भने हालसम्म डम्पिङसाइटको निर्माण हुन नसकेका कारण जहिले पनि फोहर व्यवस्थापनमा समस्या आउने गरेको छ । ८१ वर्षमा पनि राजविराज नगरपालिकाले डम्पिङसाइटलाई व्यवस्थित गर्न नसकेका हुनाले नगरपालिका क्षेत्र भित्रबाट उत्सर्जन हुने दैनिक सरदर ५० टन फोहर अव्यवस्थित रुपमा फ्याक्ने गरिएको छ । यसैगरि सरकारी तथा निजि तवरबाट संचालित सेफ्टीट्याङ्कको मल समेत खाँडो खोलमा फ्याक्ने गरिएको स्थानियहरु बताउँछन् । 
    बि.स. २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनबाट राजविराज नगरपालिकाको मेयर पदमा निर्वाचित भिमराज यादवले आफ्नो कार्यकालको सुरुवात मै राजविराज वडा नं. १५ मा डम्पिङसाइट निर्माणका लागि स्थल चयन गरि तत्काल निर्माण कार्य समेत थालनी गरेका थिए । तर उनी पदबाट निलम्बित भएपछि हालसम्म सो डम्पिङसाइट निर्माण नभइकनै फोहर अव्यवस्थित रुपमा फ्याल्ने गरिएको वडा नं. ७ का सदस्य रामानन्द देवले जनाएका छन् । यसअघि तत्कालिन मेयर शम्भु प्रसाद यादवले डम्पिङसाइटका लागि ५ विगहा जग्गा २० वर्षको लागि लिजमा लिने निर्णय गरेका थिए । सोही जग्गामा डम्पिङसाइटको निर्माण भइरहेको तर स्थानीयहरुले फोहर विसर्जन गर्न खाल्डो खन्न नदिएपछि हाल विवादमा रहेको नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परबिनले जानकारी दिएकी छिन् । उनले उक्त समस्या समाधानका लागि पहल पनि भइरहेको बताएकी छिन् ।   
    यस्तै बर्षौदेखि राजविराज नगर क्षेत्रको बिटोरी जग्गाको समस्या समेत समाधान गर्न जनप्रतिनिधिहरु गम्भिर बन्न नसकेको स्थानियको गुनासो रहेको छ । उनीहरु बिटोरी जग्गा भएकै कारण आफ्नै जग्गा बिक्रि गर्न पाएका छैनन् भने विभिन्न प्रयोजनका लागि ऋण समेत उठाउन बन्देज भएका छन् । जसका कारण बिटोरी जग्गावालहरु वर्षौदेखी समस्यामा पर्दै आइरहेका छन् । जसको निराकरणमा नगरपालिका उदासिन बन्दै आएको छ ।     
    बि.स. १९९९ सालमै ६० विगहामा यो नगर बसाइएको हो भने ८ विगहामा कर्मचारीको नाममा प्लट जग्गा स्वर्ण टोल (लंका टोल) मा बितरण गरिएको हो । त्यस्तै १० विगहामा तत्कालिन कचहरी लाइन (हाल अदालत रोड) मा सरकारी कार्यालयहरु स्थापना गरिएको हो । ७८ विगहामा फैलिएको यो सहरको बजार, बस पार्क, टेम्पु स्टेण्ड, माइक्रो स्टेण्ड, हाट बजार लगायत अहिले अव्यवस्थित हुदै जाँदा इतिहास बोकेको यस नगरपालिकाप्रति सम्बन्धीत निकायले कुनै चासो समेत देखाउन सकेको छैन । यो सहरको टाउन प्लानिङ तत्कालिन बडा हाकिम प्रकाश शम्शेरले गराएका थिए ।
    नगर क्षेत्र भित्रको समस्या मध्ये छाडा पशु चौपायाको व्यवस्थापन पनि एक हो । अहिले पनि छाडा पशु चौपायाको व्यवस्थान हुन नसक्दा दिनँहु सडकमा दुर्घटना हुनुका साथै सहर कुरुप बन्दै गएको छ । सुरुवातमा नगरपालिका कार्यालयको हाताभित्रै काँजी हाउसको व्यवस्था केही दिनका लागि गरिएपनि विगत एक दशक भन्दा बढी समयदेखी काँजी हाउसको व्यवस्था गर्न सकिएको छैन् । 
    जथाभावी पार्किङ नियन्त्रण गर्न समेत नगरपालिका चुकेको छ । नगरमा चोरीका घटनाहरु बढ्दै जाँदा त्यसलाई नियन्त्रणका प्रयासहरु समेत गरिएको देखिन्न् । नगर क्षेत्रमा सिसि टिभि जडान गरि चोरीका घटना तथा अन्य आपराधिक गतिविधीलाई नियन्त्रण गर्न नगरपालिका गम्भिर नदेखिएको स्थानीयहरुको गुनासो रहेको छ । नगरका भित्रका सडक तथा गल्लीहरुमा व्यवस्थित रुपमा सडक बत्तिको व्यवस्था नहुँदा चोरीको घटना बढ्दै गएका छन् । 
    सडक छेउमा पेटीको ब्यवस्था भएपनि सो पेटी अतिक्रमणको चपेटामा परेको छ । पेटीलाई केही व्यापारीहरुले निजि प्रयोजनका लागि प्रयोग गरेकाले बटुवाहरु बीच सडकबाटै हिड्न बाध्य भएका छन् । जसका कारण दुर्घटना हुने गरेको पाइएको छ । यसैगरि घर निर्माणका सामाग्रिहरु पनि बिच बाटोमै राख्नाले यातायातमा कठिनाई हुने गरेको छ ।
    राजविराज वडा नं. २ मा दुई दशकदेखी निर्माणाधीन अवस्थामा रहेको बस पार्क विभिन्न विवादका कारण हालसम्म पनि निर्माण हुन नसक्दा अव्यवस्थित पार्किङका कारण पनि सहरको सुन्दरतामा ग्रहण लागेको देखिन्छ । 
    राजविराज ७ मा अवस्थित ऐतिहासिक हटिया बजारलाई भत्काएर अदुरदर्शि रुपमा सटरहरु निर्माण थालिएका कारण पनि नगरको सौन्दर्यता बिलिन भएको छ । यो हटिया बजार सम्भवत नेपालकै पहिलो प्लानिङ गरि निर्माण गरिएको थियो । चार वर्षदेखी सूचारु र बन्दै हुँदै गरेको सो निर्माण कार्य हालसम्म सम्पन्न हुन नसक्दा हटिया बजार अब्यवस्थित भएको छ ।  
    समस्यै समस्याबाट ग्रस्त राजविराज नगरपालिकाको अर्को मुख्य समस्या सार्वजनिक शौचालय नहुनु हो । योजना बिहीन तरिकाबाट उचित स्थानमा सार्वजनिक शैचालयको व्यवस्था नहुँदा बटुवाहरुलाई समस्या हुने गरेको छ । विद्यालयको झ्याल थुनेर राजविराज ७ मा नगरपालिकाको गेट अगाडी नै बनाइएको सार्वजनिक शौचालय बन्द गर्न नगरपालिका बाध्य भएको छ । जसकारण बटुवाहरु खुल्ला स्थानमै शौच गर्न बाध्य भएका छन् ।
    पूर्व मेयर गोबिन्द सिंह भन्छन् “आफ्ना पालामा नगर विकासका निम्ति सडकहरु फराकिलो गर्ने कामको थालनी गर्दा त्यस बखत निकै आलोचना खेप्नु परेको थियो, सडकलाई अतिक्रमण गरि निजि स्वार्थका लागि स्थानीय व्यक्तिहरुले प्रयोग गरेकाले साँगुरो हुँदै गएको छ ।”
    नगरपालिकाका पूर्व मेयर जगरनाथ दास भन्छन् “राजविराज नगरपालिका आजभन्दा २५ वर्ष अगाडी जस्तो थियो, अहिले पनि जस्ताको त्यस्तौ रहेको छ, आफू मेयर हुँदा सम्पन्न गरेको काम ब्यवस्थित हुनु पर्नेमा अहिले कतिपय भौतिक संरचनाहरु झन अव्यस्थित भई जिर्ण भइसकेको छ” । 
    बि.स. १९९० मा कोशीको बाढीले हनुमाननगरमा वडा हाकिमको कार्यालय र अन्य कार्यालयहरुलाई बगाउँदा बि.स. १९९९ मा विकल्पको रुपमा राजविराज बजारको स्थापना भएको हो । बि.स. २०१५ सालको प्रजातन्त्रिक आम निर्वाचन पश्चात् २०१६ सालमा पहिलो पटक राजविराज बजारको नाम परिवर्तन गरि राजविराज नगरपालिका राखियो । यस नगरपालिकको पहिलो चेयर म्यान यमुनानन्द मिश्र थिए । 
    बि.स. २०१५ सालमा राजविराज ४ स्थित पूर्वमेयर गोबिन्द सिंहको घरदेखी बैष्णवकाली मन्दिरसम्मको जग्गा बैलगाडा स्टेण्ड (कार्ट स्टेण्ड) को रुपमा प्रयोग भइरहदा सरकारी उदासिनताका कारण निजि स्वार्थका लागि घरहरु निर्माण गरिएको वरिष्ठ पत्रकार अनिल कुमार अनल बताउछन् । उनी भन्छन्, “करिब ८ बिगहा क्षेत्रफल रहेको उक्त जग्गालाई प्रयोग गरेर त्यहा बस स्टेण्ड निर्माण भएको भए सहरको सौन्दर्यता अझ बढ्ने थियो ।”

प्रतिकृया दिनुहोस

ताजा अपडेट