News Category 2072/03/15

बंशज नागरिकता लिएका नेपाली मात्र राष्ट्रपति, प्रधानमन्त्री वा मुख्यमन्त्री बन्न पाउने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ असार । 
अब बन्ने संविधानअनुसार वंशजको नागरिकता लिएको व्यक्ति मात्र राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री वा न्यायाधीश बन्न पाउने भएका छन् ।
प्रस्तावित संविधान स्विकृत भएर आएपछि नेपालीसँग विवाह गरेर आएका विदेशी महिलाले पनि राजनीतिको ठूलो ओहोदामा पुग्न नपाउने भएका छन् ।
प्रस्तावित नयाँ संविधानको एकीकृत मस्यौदाको धारा २८२ (१) मा राष्ट्रपतिदेखि मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र सुरक्षा निकायका प्रमुखसम्मको पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन वंशजकै आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने उल्लेछ ।
मस्यौदाको धारा २८२ मा पदाधिकारीको नागरिकतासम्वन्धी विशेष व्यवस्था गरिएको छ, जसमा भनिएको छ–‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र सुरक्षा निकायका प्रमुख पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन बंशजका आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनु पर्नेछ ।’ अनलाइन खबर डट कममा प्रकाशित गरिएको छ । 
अन्यको हकमा यो नियम लागू नहुने
अन्य संवैधानिक निकायको पदमा भने जन्मको आधारमा वा अंगीकृत नागरिकता प्राप्त नागरिक पनि नियुक्त हुन पाउने छन् । प्रस्तावित संविधान अनुसार अन्य संवैधानिक पदमा नियुक्तिका लागि संविधान अनुसार योग्य भए जन्मको आधारमा नेपाली नागरिकता पाएको कम्तिमा पाँच वर्ष हुनुपर्नेछ । अंगीकृत नागरिकता पाएको कम्तिमा १० वर्ष पुगेको हुने पर्ने प्रस्तावित संविधानमा उल्लेख छ ।
नेपालको नागरिकता त्याग गरेर पुनः वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेको पाँच वर्ष नेपालमा बसोबास गरेको भए पनि यस्तो नियुक्त पाउने प्रस्तावमा उल्लेख छ ।
मधेस केन्द्रित सभासदको आपत्ति
मस्यौदा समितिको बैठकमा मधेस केन्द्रित सभासदहरुले प्रस्तावित व्यवस्थाको विरोध गरेका छन् । बैवाहिक अंगीकृत नागरिकता पाएकाहरुको हकमा यो व्यवस्था लागू गर्न नहुने उनीहरुको तर्क छ ।
प्रस्तावित व्यवस्थाबारे प्रश्न गर्दा सभासद गगन थापाले भने–‘संसारको जुनसुकै देशमा पनि यस्तै हुन्छ । बंशजका आधारमा नागरिकता भएकाहरुको केही प्रिभिजेल त हुन्छ नै ।’
केहो बंशजको नागरिकता ?
प्रस्तावित संविधानको मस्यौदाको धारा १२ मा वंशजका आधारमा नेपाली नागरिकताका पाउने चार आधार तय गरेको छ । उपधारा १ अनुसार नेपालमा स्थायी बसोबास भएका कुनै पनि व्यक्तिको जन्म हुँदा आमा र बाबु नेपाली नागरिक भएमा बंशजका आधारमा नेपालको नागरिकता पाउनेछ ।
यस्तै विदेशी नागरिकसँग विवाह भएका नेपाली नागरिकबाट नेपालमै स्थायी बसोबास गरेको र आमा वा बाबुको नागरिकताका आधारमा विदेश मुलुकको नागरिकता प्राप्त नगरेका व्यक्तिले नागरिकता प्राप्त गर्दा निजका आमा र बाबु दुबै नेपाली नागरिक रहेछन् भने त्यस्ता व्यक्तिले पनि वंशजका आधारमा नागरिकता पाउनेछ ।
उपधारा २ अनुसार आमा बाबुको ठेगान नभएको नेपालभित्र फेला परेका प्रत्येक नाबालिगको आमा वा बाबु पत्ता नलागेसम्म वंशजका आधारमा नेपाली नागरिक मानिनेछ ।
उपधारा ३ मा भने नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान नभएका व्यक्तिले पनि वंशजका आधारमा नेपाली नागरिकता पाउनेछन् । तर, बाबु विदेशी नागरिक भएको प्रमाणित भएमा त्यस्तो व्यक्तिको नागरिकता अंगीकृतमा परिणत हुनेछ ।
उपधारा ४ मा उपधारा १ बमोजिम वंशजका आधारमा नेपालको नागरिकता पाएका र संविधान प्रारम्भ हुँदा जन्मका आधारमा नेपालको नागरिकता पाएका व्यक्तिको सन्तानले भने आमा वा बाबुको नामबाट वंशजका आधारमा नागरिकता पाउनेछ ।
के हो वैवाहिक अंगीकृत ?
प्रस्तावित मस्यौदामा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी पुरुषले वैवाहिक अंगीकृत नागरिकता लिन १५ वर्षमा नेपालमा स्थायी बसोबास र विदेशको नागरिकता परित्याग गर्नु पर्नेछ ।
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले भने विदेशको नागरिकता परित्याग गरेमा तत्कालै नेपालको नागरिकता प्राप्त गर्नेछन् । यस्तो नागरिकता वैवाहिक अंगीकृत हुनेछ ।
अंगीकृत नागरिकहरुले राजनीतिक अधिकार पाए पनि गैरआवासीय नागरिकता पाउनेले भने राजनीतिक अधिकारबाहेकमा सामाजिक आर्थिक अधिकार मात्रै पाउने भएको अनलाइन खबर डट कममा प्रकाशित गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट