News Category 2072/12/19

डा. सीके राउतको अन्तरवार्ता लिने एबीसी टिभिलाई काउन्सिलद्वारा कारवाहीको चेतावनी राउतको अभिव्यक्ति आम जनताले जान्न पाए ः एबीसी न्यूज

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ चैत । 
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतको अन्तरवार्ता प्रशारण गर्ने एबीसी टेलिभिजनलाई प्रेस काउन्सिल नेपालले कारवाहीको चेतावनी दिएको छ ।
बिहीबार एक विज्ञप्ति जारि गर्दै प्रेस काउन्सिल नेपालले एविसी टिभीलाई एक पत्र पठाई कार्वाहीको चेतावनी दिएको छ । 
उक्त टेलिभिजनमा चैत्र १७ गते सीके राउतसँगको अन्र्तवार्ताका क्रममा प्रसारित सामग्रीले पत्रकार आचारसंंहिता, ०६० (संशोधित तथा परिमार्जित–०६४) को दफा ४, उपदफा (१) को ठाडो र गम्भीर उल्लंघन भएको भन्दै ३ दिन भित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो । 
बुधबार बेलुकी ६ बजेदेखि प्रसारित अन्तर्वार्ता कार्यक्रमका सामग्रीले सार्वभौमसत्ता, अखण्डता, सामाजिक सद्भाव, र जातजाति बीचको सुसम्वन्धमा खलल् पु¥याएको काउन्सिलको ठहर छ । यो निर्देश अनुरुप नगरेमा थप कारबाही हुने वताउँदै यस विषयमा केही प्रतिक्रिया भए सो र अभिलेख सहित पत्र प्राप्त भएको मितिले ३ (तीन) दिनभित्र उपस्थित हुन निर्देश गरिएको छ ।
यसैबीच एबीसी टेलिभिजनले एक वक्तव्य जारि गरि बुधबार साँझ (१७ चैत्र, २०७२) कार्यक्रम एबीसी वाचमा ‘मधेश टुक्र्याउँछु भन्ने अभिव्यक्ति दिँदै हिँड्ने’ सीके राउतको अन्तर्वार्ता प्रसारित भएको बारे छुट्टै प्रतिक्रिया दिएको छ । 
जारि वक्तव्यमा भनिएको छ, “प्रेस काउन्सिलको नजरमा ‘एबीसीले आचारसंहिता उल्लंघन’ गर्यो । तर, राउतको अन्तर्वार्ता प्रकरणप्रति एबीसी न्यूज फरक मत राख्दछ । एबीसी न्यूज स्थापनाकालदेखि राष्ट्र, राष्ट्रियता र जनताप्रति सबैभन्दा बढी समर्पित छ । गणतन्त्र नेपालको पहिलो न्यूज च्यानलको रुपमा हामीले स्थापनाकालदेखि आम जनताको चासो र चिन्ताको पक्षमा समाचारहरु प्रसारित गर्दैआएका छौं । हामी दावीका साथ भन्छौं, हाम्रो, हाम्रा प्रत्येक समाचार र रिपोर्टहरु जनताप्रति उत्तरदायी छन, राष्ट्रियताप्रति प्रतिवद्ध छन् । जनताका प्रत्येक सरोकारमा चासो राख्नु हाम्रो दायित्व हो । एबीसी न्यूज राष्ट्रियताप्रति प्रतिवद्ध छ । एबीसीमा बुधबार मधेशलाई टुक्रयाउंछु भनेर गतिविधि गरिरहेका सिके राउतको अन्तर्वार्ता प्रसारित भएपछि बुधबाररातिदेखि नै क्रिया प्रतिक्रियाहरु आइरहेका छन् । ती सबैको एबीसी सम्मान गर्दछ । सिके राउतका कुनै पनि अभिव्यत्ति एबीसी टेलिभिजनको सम्पादकीय नीतिसंग मेल खांदैनन् । बरु, ती अभिव्यत्तिप्रति एबीसी टेलिभिजन आपत्ति व्यक्त गर्दछ । तर, सीके राउतले जनतालाई भ्रमित पार्ने गरी गर्ने अभिनयको बारेमा भने आम जनता र दर्शकले जान्न पाउनु पर्छ । एबीसीमा प्रसारित अन्तर्वाताले सीके राउतलाई कतै प्रमोट गरेको छैन । बरु, उनको चरमपन्थी अभिव्यक्तिप्रति आम जनताले जान्न पाएका छन् र उनी विरुद्ध थप मत बनाउनका लागि जनता सचेत बनेका छन् ।” 
यसैअघि सीके राउतलाई काठमाडौंस्थित रिपोर्टस क्लवमा उभ्याएर पत्रकार सम्मेलन गराउने ऋषि धमलाको प्रयास असफल भएको छ । प्रेस काउन्सिलको हस्तक्षेपपछि धमलाको प्रयास असफल भएको हो । क्लबका अध्यक्ष धमलालाई प्रेस काउन्सिलले मौखिकरुपमा सचेत गराएपछि पत्रकार सम्मेलन स्थगित गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट