News Category 2073/08/13

एसपीलाई ४८ घण्टा भित्र सप्तरीबाट सरुवा गर्न गृहमन्त्रीलाई ज्ञापन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ मंसिर । 
भारतीय योगगुरु रामदेब स्वामीको छिन्नमस्ता भ्रमणका बेला समाचार संकलनका लागि पुगेका पत्रकारहरुमाथी प्रहरी उपरिक्षक दिवेश लोहनीले हातपात र दुब्र्यबहार गरेको प्रति जिल्लाका पत्रकारहरुले आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत गृह मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । 
नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण देवको नेतृत्वमा गएका संचारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी बलदेव गौतमलाई सो ज्ञापन पत्र बुझाएका हुन् ।
नेपाल पत्रकार महासंघ केन्द्रिय समितिलाई समेत बोधार्थ गरिएको ज्ञापनमा जिल्ला प्रशासनका केही अधिकारी र प्रहरीका पनि केही अधिकृतकै सामुन्ने लोहनीले नेपाल पत्रकार महासंघ सप्तरीका कार्यसमिती सदस्य चन्दन यादबलाई बुट, मुडकीले हान्दै तथानाम गालीगलौज गरेको उल्लेख छ । 
त्यस्तै लोहनीले राष्ट्रिय समाचार समितीका सम्वाददाता अरुणकुमार यादब सहितका पत्रकारलाई गाली गर्दे धक्का दिएर समाचार संकलनमा अबरोध गरेको जनाइएको छ । 
ज्ञापनमा सरुवा भएर सप्तरी आएको पहिलो दिनमै संचारकर्मीमाथी आफैले हातपात गर्ने प्रहरी उपरिक्षक लोहनीको कार्यलाई हामीले प्रेस स्वतन्त्रतामाथी ठाडो हस्तक्षेपको रुपमा लिएको जनाइएको छ । 
ज्ञापनमा भनिएको छ, “सप्तरीका प्रहरी उपरिक्षक लोहनीले आफै हातपात र दुब्र्यबहार गर्नुले हामी प्रहरीवाटै असुरक्षित भएको महसुस गरेका छौ । त्यसकारण पत्रकारमाथी हातपात र दुब्र्यबहार गर्ने प्रहरी उपरिक्षक लोहनीलाई ४८ घण्टा भित्र सप्तरीवाट सरुवा गरि बिभागीय कारवाही गर्न अनुरोध गर्दछौ । हाम्रो माग पुरा नभए सशक्त आन्दोलनमा उत्रने कुरा समेत जानकारी गराउन चाहन्छौ ।” 

प्रतिकृया दिनुहोस

ताजा अपडेट