News Category 2074/01/10

मतदाता शिक्षा सम्बन्धी कार्यक्रम बिथोल्ने क्रममा प्रहरीको कुटाईबाट मोर्चाका चार नेता घाईते

दैनिक समाचारदाता

राजविराज÷संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शनिबार राजविराजमा मतदाता शिक्षा सम्बन्धी कार्यक्रम बिथोलेको छ । 
स्थानिय केअ माविमा संचालन भइरहेको उक्त मतदाता शिक्षा कार्यक्रममा मोर्चाका नेता कार्यकर्ताहरुले बिथोल्न खोज्दा प्रहरीसँग झडप समेत भएको छ । मतदाता शिक्षा सम्बन्धी रजिष्टर र म्यानुट मोर्चाका नेताहरुले च्यातेपछि प्रहरीसँग झडप सुरु भएको हो । 
झडपमा प्रहरीले मोर्चाका चार जना नेता कार्यकर्ताहरुलाई कुटपिट गरेको छ । सो कुटपिटबाट मोर्चाका बिनोद यादव, शम्भु यादव, मनोज राउत र अशोलाल यादव गम्भिर घाइते भएका छन् । उनीहरुलाई तत्कालै राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अंचल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालमा उनीहरुको उपचार सम्भव नभएपछि धरान रेफर गरिएको मोर्चाले जनाएको छ । 
यता प्रहरीले मोर्चाका नेताहरुलाई कुटपिट गरेको बिरोधमा शनिबार दिउँसो मोर्चाले राजविराजमा बिरोध प्रदर्शन समेत गरेको छ । राजविराजस्थित विभिन्न चौकमा मोर्चाले टायर बालेर बिरोध प्रदर्शन गर्दै प्रहरी बिरुद्ध नाराबाजी गर्दै नगर परिक्रमा गरेको थियो । 
उनीहरुले जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडी एक घण्टा चक्काजाम गर्दै बिरोध प्रदर्शन गरेका थिए । 
यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) ले विराटनगरमा निर्वाचन सामाग्री जलाउनुका साथै कर्मचारीहरुलाई धपाएका छन् ।
विराटनगर सरोचियास्थित शैलेस मन्दिर अगाडि निर्वाचन सम्बन्धी गतिविधि गर्न गएका कर्मचारीहरुसँग रहेका सम्पूर्ण सामाग्री खोसेर राजपाका कार्यकर्ताहरुले जलाएका छन् । शनिबार विहान सवा ११ बजे सामाग्रीहरु जलाइएको छ ।
श्रोतका अनुसार राजपाका कार्यकर्ताहरुले निर्वाचनमा खटेका कर्मचारीलाई हातपात गर्न खोज्दा भागेका थिए । कर्मचारीहरुले नै प्रहरीलाई बोलाएका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट