News Category 2071/03/22

राजविराज नगरपालिकालाई व्यवस्थित बनाउन तिब्र रुपमा काम हु“दै

दैनिक समाचारदाता

राजविराज÷भारतको गुलाबी सहरको नामले प्रख्यात जयपुर सहरको नक्सामा आधारित नेपालकै पहिलो टाउन प्लानिङ राजविराज सहर अहिले व्यवस्थित मात्र नभई विकास तर्फ उन्मूख हुँदैछ । 
राजविराज नगरको विभिन्न सडकहरु अहिले फराकिलो गर्नुका साथै पिचिङ्ग तथा ढलाई समेत गरिएको छ । वर्षौदेखी अतिक्रमणको चपेटमा परेका ती सडकहरुलाई नगरपालिकाले व्यवस्थित बनाउन फराकिलो गर्दै ढलाई समेत गरेको छ । ती कामहरु सूचारु नै रहेको छ । 
राजविरास्थित हटियाको पश्चिम पट्टीको अतिक्रमणमा परेको सो गल्लीलाई अहिले व्यवस्थित गरि ढलाई गरिएको छ । करिब १ सय मिटर लम्बाई र २२ फिट चौडाई रहेको उक्त गल्लीको ढलाई गर्ने कामलाई पूर्णता दिन दिनरात काम गरिरहेको उपभोक्त समितिका बलराम यादवले जानकारी दिनुभयो ।   
सो गल्लीमा ढक्कन सहितको नाला, ग्राभेल गरि ढलाई गर्ने काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । उक्त गल्ली करिब ७० वर्षदेखी अतिक्रणमा परेको थियो । 
यस्तै वन कार्यालयदेखी पूर्व रहेको २९ फिट चैडाई तथा १०० मिटर लम्बाई सडकको समेत ढलाई काम सम्पन्न भएको उपभोक्ता समितिका कोषाध्यक्ष सुनिल कुमार जैनले जानकारी दिनुभयो । सो बाटो वर्षौदेखी माटोकै रहेको थियो भने नगर बिस्तार भएपछि सडकमा चाप बढ्दै जाँदा सडकलाई ढलान गरिएको स्थानियहरुले बताएका छन् । 
यस्तै राजविराज ६ स्थित जिल्ला प्रशासन कार्यालयदेखी पश्चिम जाने बाटोको समेत पिचिङ्गको काम सम्पन्न भएको उपभोक्ता समिति अध्यक्ष दिपककुमार झाले जानकारी दिनुभयो । करिब ४ सय मिटर लम्बाई तथा २२ फिट चौडाई रहेको उक्त सडक पनि वर्षैदेखी जिर्ण रहेको थियो । 
यसैगरि राजविराज ४ स्थित सिनेमा हल टासिएकै सडकको समेत पिचिङ्ग कार्य जोडतोडले भइरहेको छ । त्यसैगरि नगरमा दुईवटा शौचालय पनि निर्माण भइरहेको छ । 
यसअघि व्यापारी परियोजनका लागि सडक छेउमा बनाइएको पेटीलाई नगरपालिका अग्रसर भएपछि हटाइएको छ । नगरको सडक छेउमा बनाइएको टहरा, कठघरा, गुम्ति लगायतलाई नगरपालिकाले हटाई सहर व्यवस्थित गर्न लागिपरेको छ । नगरको विभिन्न सडक छेउमा बृक्षा रोपन कार्य समेत गरिँदै छ । नगरमा हरियारी तथा स्वस्थ्य हावा र बटुवाहरुलाई छाहारी हुने दृष्टिकोणले बृक्षा रोपन गर्न लागिएको राजविराज नगरपालिका कार्यालयका कार्यकारि अधिकृत विष्णु प्रसाद गुरुङ्गले जानकारी दिनुभयो ।  
७८ विगहामा फैलिएको यो सहरको बजार, बस पार्क, टेम्पु स्टेण्ड, माइक्रो स्टेण्ड, हाट बजार लगायत इतिहास बोकेको यस नगरपालिकालाई अहिले व्यवस्थित गर्न नगरपालिका लागिपरेको अधिकृत गुरुङ्गको भनाई छ ।
अहिले राजविराज नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९ र १० मा समेत माटो, ग्राभेल, ढलाई, पिचिङ्ग तथा नालाको कामलाई निरन्तरता दिइदै छ । 
बि.स. १९९० मा कोशीको बाढीले हनुमाननगरमा वडा हाकिमको कार्यालय र अन्य कार्यालयहरुलाई बगाउँदा बि.स. १९९९ मा विकल्पको रुपमा राजविराज बजारको स्थापना भएको हो । 
तत्कालिन राजविराज बजारको टाउन प्लानिङ बि.स. १९९९ सालमा तत्कालिन वडा हाकिम प्रकाश शम्शेरले गराउनु भएको थियो ।
बि.स. १९९९ सालमै ६० विगहामा यो बजार बसाइएको हो भने ८ विगहामा कर्मचारीको नाममा प्लट स्वर्ण टोल (लंका टोल) मा बितरण गरिएको हो । त्यस्तै १० विगहामा तत्कालिन कचहरी लाइन (हाल अदालत रोड) मा सरकारी कार्यालयहरु स्थापना गरिएको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट