News Category 2071/10/01

चम्बलका डाँकाले जस्तो फरमान जारी गर्दैमा डराउँदिन ः सभासद् मण्डल

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३० पुस । 
नेकपा एमालेका स्थायी समिति सदस्य एवं सभासद् सत्यनारायण मण्डलले आफु चम्बलका डाँकाले जस्तो फरमान जारी गर्दैमा कसैसित नडराउने बताउनुभएको छ ।
सप्तरी निवासी सभासद् मण्डलले प्रदेश विभाजनमा मधेस, पहाड र हिमाल मिलाएर प्रदेश बनाउनुपर्ने भनि एमालेको बैठकमा दिएको सुझावको विरोध गर्दै यहाँस्थित एमाओवादी, मधेसवादीसहितका ३० दलीय मोर्चाले मंगलवार मात्रै गृह जिल्ला प्रवेशमा उहाँलाई रोक लगाउने निर्णय गरेका थिए ।
सोही निर्णयप्रति प्रतिक्रिया जनाउनुहुँदै सभासद् मण्डलले यस्तो बताउनु भएको हो । ‘म नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा पाँच दशकसम्म पेशेवर रुपमा लडेको योद्धा हुँ’, बुधवारको संस्करणमा अनलाईनखबर डटकमलाई सभासद् मण्डलले प्रतिक्रिया दिंदै भन्नुभएको छ, ‘तराईका जमिन्दार सामन्तहरु विरुद्ध लडेको मान्छे हुँ, तीनै अपराधीहरु आज ३० दलको नाममा एकजुट भएर मलाई फतवा जारी गर्दैमा डराउँदिँन ।’
सप्तरीको भूगोल राज्यको हो कि केही सामन्त जमिन्दारको हो भन्ने प्रश्न गर्दै मण्डलले भन्नुभएको छ, ‘चम्बलका डाँकाले जस्तो फरमान जारी गर्दैमा म डराउँदिन, तत्कालै सप्तरी गएर जनतालाई उठाउँछु ।’ 
सभासद् मण्डलले मधेसी, जनजाति र पहाडी खस आर्यहरु मिलेर बस्नुपर्छ भन्दा आफूमाथि आक्रमणको धम्की आएको दाबीसमेत गर्नुभयो । ‘हिमाल पहाड र तराई मिल्नुपर्छ भनेर मैले के अपराध गरेँ’, मण्डलले भन्नुभयो, ‘म धम्कीको सामना गर्न तयार छु, आफ्नो बिचार छाड्दिन, माफीको त कुरै नगर्नु, गृहजिल्ला आएर जनतालाई उठाउनेछु ।’

प्रतिकृया दिनुहोस

ताजा अपडेट