News Category 2082/08/05

सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन

दैनिक समाचारदाता

सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन

दैनिक समाचारदाता
राजविराज, ४ मंसिर ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशले निकास पाउन नसके सार्वभौमसत्ता माथि नै खतरा उत्पन्न हुने बताएका छन् ।  
    सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहामा बिहीवार राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. ३ को प्रथम क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
    अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले देश अहिले असामान्य अवस्थामा पुगेको भन्दै देश जोगाउन सबै शक्ति मिलेर अघि बढनुपर्नेमा जोड समेत दिए । देश अहिले सामान्य अवस्थामा नरहेकोले सबै शक्ति राजनैतिक आग्रह पुर्वाग्रह भन्दा माथि उठेर निकास दिनुपर्ने अवस्था आएको उनको भनाइ छ । 
    देश संकटपूर्ण अवस्थामा रहेकोले सबै राजनीतिक शक्ति सहकार्य गरेर मात्र अहिले अवस्थाबाट पार लाग्ने दावी गर्दै उनले सरकारले सर्वपक्षीय सम्मेलन बोलाएर सबैको सहमतिमा मौलिक व्यवस्थामा जानुपर्ने धारणा राखे ।
    देश संकटमा परेको बेला मधेश प्रदेशमा देखिएको छिनाझप्टीले प्रदेशको औचित्य समाप्त भईसकेको भन्दै उनले प्रदेश खारेज गरेर नयाँ व्यवस्था सहित अगाडी बढ्नुपर्नेमा जोड दिए ।
    “यो व्यवस्थाले पार लाग्दैन” उनले भने, अव प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावको रुपमा राजा र राजा सहितको हिन्दू राष्ट्र कायम गर्नुपर्ने उनको भनाई थियो ।
    भदौ २३ र २४ गतेको आन्दोलनमा संसद भवन, सिंहदरवार, सर्वोच्च अदालतदेखि प्रधानमन्त्री र राष्ट्रपति कार्यालयसम्म जल्नुको कारण पछाडि विदेशीको पनि हात रहेको दावीका साथ उनले यसतर्फ पनि सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
    राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर साहको अध्यक्षतामा आयोजित कार्यक्रममा महामन्त्री प्रहलाद प्रसाद साह, मधेश प्रदेश अध्यक्ष भरत गिरी र प्रदेश समिति सदस्य विनोद पाण्डे, क्षेत्रीय अध्यक्ष नारायण मिश्रा लगायतले पनि बोल्दै राजा सहित हिन्दू राष्ट्र स्थापनाका लागि अगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अत्याधिक मतले विजय बनाउनु अपिल गरेका थिए । 
    सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका नव प्रवेशीहरुलाई प्रमुख अतिथि लिङ्गदेनले फूल माला र अबिर लगाई स्वागत गरेका थिए । क्षेत्रीय अधिवेशनले रामकुमार यादवको नेतृत्वमा क्षेत्र नं. ३ को नयाँ कार्यसमिति सर्वसम्मितले चयन गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट