News Category 2082/09/20

मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान

दैनिक समाचारदाता

मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान

दैनिक समाचारदाता
राजविराज, २० पुस । 

    मस्जिदमा भएको तोडफोड घटनाबिरुद्ध राजविराजमा आइतबार प्रदर्शन गरिएको छ । मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन गरिएको हो । 
    प्रदर्शनका क्रममा धनुषामा भएको मस्जिदमा तोडफोड तथा अन्य जिल्लामा मुस्लिम समुदायमाथी आक्रमण भएको भन्दै प्रदर्शनकारीले दोषिमाथी कडा कारवाहीको माग गरेका छन् । 
    मुस्लिम समुदायका युवाहरुको उल्लेख्य सहभागितामा नगर क्षेत्रमा गरिएको प्रदर्शनका क्रममा विभिन्न चौकमा टायर बालेर बिरोध जनाएका छन् । सो प्रदर्शन पछी स्थानीय नेता चौकमा बिरोध सभाको आयोजना समेत गरिएको छ । 
    बिरोधसभाका सहभागिहरुले केही दिनयता मुस्लिम धर्मावलम्बीहरुको आस्थाको केन्द्र तथा मुश्लिम समुदायका व्यक्तिहरुमाथी समेत आक्रमणको घटना भइरहेको भन्दै यस्ता कार्य नरोकिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । 
    यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग आह्वान गरेको छ । 
    वीरगञ्जमा भएको प्रदर्शनलाई मध्यनजर गर्दै समाजमा शान्तिसुरक्षा कायम राख्नका लागि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सार्वजनिक अपिल गरेका हुन् । उनले सामाजिक सद्भावमा खलल पु¥याउने कुनै किसिमको गतिविधि नगर्न आह्वान गरेका छन् । 
    “एकअर्कामा सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेष भाव सृजना गरी राष्ट्रिय एकतामा आँच पु¥याउने वा झूठो अफवाह फैल्याई समुदायको सामाजिक मानमर्दन गर्ने काममा संलग्न व्यक्तिहरुको फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल खाताको सूक्ष्म निगरानी भइरहेको छ”, उनले भने, “यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिइ सचेत र सजग हुन पनि अनुरोध गरिन्छ ।” 
    समाजमा शान्ति र सहिष्णुता कायम राख्न जिम्मेवार बन्न तथा असत्य र उत्तेजक सूचना सेयर नगर्न पनि नागरिक, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरिएको छ ।
    धनुषामा मस्जिदमा तोडफोड र कुरान जलाएको घटनाको विरोधमा आइतबार वीरगञ्जमा भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
    प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै छपकैया प्रहरी बिटमा तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । पर्सा प्रहरीले प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्न थालेपछि ५ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ । 
    धनुषाको कमला नगरपालिका ६, सखुवा मरानस्थित मुस्लिम टोलको मस्जिदमा शनिबार तोडफोड र धार्मिक ग्रन्थ जलाइएको थियो । यो घटनाको सुरुवात सामाजिक सञ्जालमा पोस्ट भएको एक भिडियोबाट भएको प्रहरीले जनाएको छ ।
    धनुषा प्रहरी प्रमुखका अनुसार सुरुमा दुई जना मुस्लिम युवकले हिन्दु समुदायको रक्षाबन्धन पर्वप्रति नकारात्मक सन्देश जाने भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उक्त भिडियो बाहिरिएपछि आक्रोशित स्थानीय युवाहरूले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरी चौकी घेराउ गरेका थिए ।
    प्रहरीले लगत्तै भिडियो पोस्ट गर्ने दुवै युवकलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले आरोपितहरूलाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाइरहेकै समयमा केही युवाको समूहले मस्जिदमा पुगेर आक्रमण गरेको प्रहरी प्रमुख कुँवरले बताए । सोही घटनाको प्रतिक्रिया स्वरूप आइतबार वीरगञ्जमा प्रदर्शन भएको हो ।

प्रतिकृया दिनुहोस