News Category 2082/09/22

कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप

दैनिक समाचारदाता

कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप

दैनिक समाचारदाता
राजविराज, २२ पुस । 

    कारागार कार्यालय सप्तरीका कैदीबन्दीले आफुहरुले पाउने विभिन्न सेवा सुविधा रकम तथा सामग्रीमा चौकिदारले अनियमितता गर्ने गरेको आरोप लगाएका छन । उनीहरुले सो प्रकरणबारे उचित छानवीन हुनु पर्ने माँग समेत गरेका छन । 
    उनीहरुले चौकिदार मनोज यादव र कामेश्वर यादवले कारागारको “क” ब्लकमा राशन सामग्रीमा मनपरी मूल्य कायम गरी वसुली गर्नेदेखी कैदीबन्दीका लागी चिसो छल्न सरकारद्वारा कपडाका लागी पठाइएको रकममा समेत आर्थिक अनियमितता गरेको दाबी गरेका छन । 
    कारागारमा बन्दी जीवन विताईरहेका सिरहाका दिपेन्द्र महतोका अनुसार चौकिदार कामेश्वर र मनोजले एक पिस माछाको ९० तथा मासुको १ सय ५० रुपैया जबरजस्ती वसुल्ने गरेको बताए । यस्तै आलु प्रति केजी १ सय, प्याज प्रति केजी १ सय ५० र काउली प्रति केजी २ सय ५० का दरले कारागारका कैदीबन्दीलाई बेच्ने गरेको उनको भनाई छ । यतिमात्र होइन, चिसो मौसमलाई ध्यानमा राखी सरकारले कपडाका लागी प्रति कैदीबन्दी २ हजार ५ सयका दरले पठाइएको रकममा पनि आर्थिक अनियमितता भएको कैदीबन्दीको गुनासो छ । 
    यसै विषयलाई लिएर अघिल्लो दिन सोमवार साँझ हो–हल्ला भएपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीले स्थिती नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । उनले कैदीबन्दीको माग अनुसार चौकिदारको सरुवा गरिएपछि कारागारको तनाव साम्य भएको बताए । 
    यता पाँच दिन अघि मात्र जिम्मेवारी सम्हालेका निमित्त जेलर शुशिल कर्णले कैदीबन्दीको गुनासो आएपछि दुबै चौकिदारलाई “क” ब्लकबाट हटाएर अनुसन्धान भइरहेको बताए । उनले राशन सामग्रीमा मनपरी मूल्य चौकिदारले लिएको गुनासो पछी कारागार भित्र राशन सामग्रीको उचित मुल्य कायम गरी मूल्य सुची नै टाँस गरिएको बताए । 
    उनले कपडा वापतको रकम सम्बन्धमा कैदीबन्दीले लगाएको आरोप पनि छानवीन भईरहेको बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट