News Category 2072/07/07

राष्ट्रपति उम्मेदबारको दौडमा वर्तमान राष्ट्रपति डा. यादव पनि महन्थसहित एमालेबाट झलनाथ, विद्या, सुवासचन्द्र र काँँग्रेसबाट कुलबहादुर, मानबहादुर

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ कात्तिक । 
संविधानको संक्रमणकालीन व्यवस्थाअन्तर्गत मुलुकको दोस्रो राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्न रूपान्तरित संसदको बैठक आज (शनिबार) बस्दैछ ।
शनिबार अपराह्न ३ बजे बस्ने संसद बैठकमा सभामुखले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा निर्वाचन समिति गठन गर्नेछन् । समितिले संविधानको धारा २९७ को उपधारा २ बमोजिम दलहरूलाई राजनीतिक सहमतिका आधारमा साझा उम्मेदवार पेस गर्न सम्भवतः कात्तिक ८ सम्मको समय उपलब्ध गराउने गरी निर्वाचन कार्यक्रम प्रकाशित गर्नेछ ।
संसदमा भएका दलहरूबीच पछिल्लो समय देखिएको मतभेदका कारण राजनीतिक सहमतिका आधारमा राष्ट्रपति चयन हुने सम्भावना असम्भवप्रायः देखिएको छ । निर्धारित समयमा सहमति हुन नसके निर्वाचन समितिले संसदको अन्तरिम कार्यविधि तथा संविधानको धारा २९७ को उपधारा ३ बमोजिम संसदमा तत्काल कायम सम्पूर्ण सदस्यको बहुमतद्वारा राष्ट्रपति तथा उपराष्ट्रपति चयन प्रक्रिया सुरु गर्नेछ ।
निर्वाचन कार्यक्रमअनुसार कात्तिक ९ गते उम्मेदवारी दर्ता र त्यसको भोलिपल्ट उम्मेदवारको प्रचारप्रसारका लागि समय दिने तयारी भइरहेको संसद सचिवालयका एक अधिकारीले सेतोपाटीलाई जानकारी दिए ।
संसद सदस्यहरूले गोप्य मतदानका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्नुपर्ने भएकाले उम्मेदवारलाई छोटो समय भए पनि प्रचारप्रसारका लागि उपलब्ध गराइनेछ । सम्भवतः कात्तिक ११ वा १२ भित्र निर्वाचन गरिसक्ने तयारी सचिवालयको छ ।
दुईभन्दा बढी उम्मेदवार भई कसैले पनि हाल कायम सदस्य संख्या ५ सय ९७ को बहुमत अर्थात् २ सय ९९ मत प्राप्त गर्न नसके पहिलो र दोस्रो उम्मेदवारबीच पुनः मतदान गराइनेछ । त्यसपछि बहुमत प्राप्त गर्ने व्यक्ति मुलुकको दोस्रो राष्ट्रपति तथा उपराष्ट्रपति हुनेछन् ।
सत्तारुढ गठबन्धनको प्रमुख दल एमालेले पूर्वअध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष विद्या भण्डारी र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नाम अघि सारिरहेको छ । एमालेका केही नेताले भने संविधानको सफल कार्यान्वयन र मुलुकमा उत्पन्न जटिल परिस्थिति सामना गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिन राष्ट्रपति पद कांग्रेस उम्मेदवारलाई दिनुपर्ने सुझाव राखिरहेका छन् ।
कांग्रेसभित्र कतिपय नेताले वर्तमान राष्ट्रपति रामवरण यादवको चाहनाबमोजिम दोस्रो कार्यकालका लागि पुनः यादवलाई नै अघि सार्नुपर्ने अडान लिएका छन् । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले भने यादवलाई मात्र पटक–पटक अवसर दिनुभन्दा अहिलेको समयमा नयाँ अनुहार रोज्नुपर्ने अडान लिँदै आएको छ ।
यादवको विकल्पमा कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ र मानबहादुर विश्वकर्माको नाम अग्रपंक्तिमा आइरहेको छ । कतिपयले तराई–मधेसमा देखिएको समस्या समाधानका लागि थारू वा मधेसी समुदायबाट सकभर कांग्रेसकै र नभए मधेसवादी दलका तर्फबाट भए पनि राष्ट्रपतिमा पठाउनुपर्ने सुझाव राखेका छन् ।
कांग्रेसले पछिल्लो समय प्रधानमन्त्री निर्वाचनमा समर्थन जनाएको तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रस्तुत गर्ने प्रस्ताव आन्तरिक छलफलमा भएको थियो । ठाकुरले आफू उक्त पदका लागि तयार नभएको अभिव्यक्ति सार्वजनिक माध्यमबाट दिइसकेका छन् ।
सत्ता साझदार एकीकृत माओवादीले आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने माग गर्दै त्यसका लागि पार्टी नेता अमिक शेरचन वा माओवादी पूर्व लडाकु कमान्डर नन्दकिशोर पुनको नाम चर्चामा ल्याएको छ ।
प्रमुख राजनीतिक दलहरूबीच सहमति हुन नसके संसदको गोप्य मतदानमा सत्तापक्षको पल्ला भारी देखिए पनि परिणाम यसै हुन्छ भन्ने अवस्था छैन । सेतोपाटीबबाट

प्रतिकृया दिनुहोस

ताजा अपडेट