सतीश कुमार
राजविराज, २६ असार ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा दर्जनौं चिकित्सक छन । उनीहरु बिहान ओ.पी.डी.मा पूर्जा कटाई आएका बिरामीलाई चेकजाच गरि दिउँसो, बेलुका आफ्ना नीजि क्लिनिकमा आएका बिरामीलाई हेर्छन । तर, गजेन्द्र नारायण सिंह अस्पतालका आधिकारिक चिकित्सक नभए पनि एक चिकित्सक आफ्नै कार्यकक्षमा बिरामीलाई हेर्दै बेलुकी साँझ सम्म बसी रहन्छन, ती चिकित्सक हुन डा. पशुपति चौधरी ।
डा. चौधरी रामराजा प्रसाद सिंह स्वास्थय विज्ञान प्रतिष्ठानका प्रमुख हुन । प्रतिष्ठानको कार्यालय सोही अस्पताल कै परिसरमा रहेको छ । त्यहाँ प्रमुखको रुपमा कार्यरत रहेका डा. चौधरी हाड, जोर्नी तथा नशा रोगका बिशेषज्ञ चिकित्सकका रुपमा नेपाल कै अग्रणी चिकित्सकको रुपमा आफ्नो स्थान बनाएका छ । उनी बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बर्षौं सेवा गरी लामै अनुभव र ख्याति कमाएका चिकित्सक भएकै कारण उनको नाम सुनेर टाढा–टाढाबाट बिरामीहरु उनी कहाँ आउँछन् ।
सोमवार र विहिबार अनिवार्य अस्पतालका पूर्जा काटिएका बिरामीलाई आफ्नै कार्यकक्षमा उपचार गरी आएका डा. चौधरी दिनमा करिब १ सय ५० बिरामीलाई उपचार गर्न भ्याउँछन् । कार्यालय खुलेको अन्य दिन पनि डा. आएको थाहा पाए पछि बिरामी अस्पतालबाट पूर्जी काटी आउँछन भने पूर्जी नै नकटाई आएका बिरामीलाई पनि डा. चौधरीले उपचार गर्ने गरेका छन ।
आफ्नो घुँडामा अर्थोराईटिसको समस्या लिएर उपचारमा आएकी हनुमाननगर कंकालिनी ९ की रतनी देवी साह भन्छिन– “धेरै ठाउँमा उपचार गराए, धरानको डाक्टर राजविराज आउँछन भन्ने सुनेर यहाँ आएर डा. साबले घुँडामा सूई लगाई दिए पछि अहिले आराम भएको छ ।”
त्यस्तै हेमाटोमाको शिकार रही पीडित राजविराज नगरपालिका ११, फर्सैठका अमिरका रजकले डा. पशुपतिको बारेमा अरुबाट सुनेर उनीसँग जचाउन आएको र उनले कुहिनोबाट फोहोर रगत र पानी निकाली उपचार गरी दिंदा आफुलाई सामान्य भएको बताउँछिन ।
घुँडा खिईएर अर्थोराईटिसका बिरामी रहेका राजविराज नगरपालिका ८ बस्ने केशर बहादुर श्रेष्ठकी श्रीमती लक्ष्मी श्रेष्ठलाई पनि डा. पशुपतिले आफ्नै कार्यकक्षमा घुडाको हड्डीमा सूई लगाई दिएको बताएकी छिन ।
दिनहुँ यस्तै बिरामीको आफ्नो कार्यकक्षमा घुईंचो लाग्ने र यस्ता आफ्ना गाउँ–ठाउँका बिरामीले आराम भएको सुन्दा आफुलाई खुशी हुने गरेको डा. चौधरी बताउँछन ।
उपचारका क्रममा घुड़ा, कुहिनोको हाडमा चित्सिकले नै लगाउने सूई समेत डा. चौधरीले आफ्नै कार्यकक्षमा लगाई दिने गर्छन । यसरी सप्तरीमा निःशुल्क सेवा दिईरहेका डा. चौधरीलाई उनको कार्यहरुलाई लिएर सोध्दा उनले भने “मलाई प्रतिष्ठानको अध्यक्षको रुपमा यहाँ जिम्मेवारी तोक्दा मलाई औधी नै खुशी लागेको थियो । एकातिर प्रतिष्ठानको काम र दायित्वको चुनौती थियो भने म आफैं जन्मे हुर्केको ठाउँमा आफ्ना सेवा दिने अवसरको उत्साह पनि थिए ।” डा. चौधरी थप्छन– “म धरानमा कार्यरत हुँदा पनि सप्तरीको कोही बिरामी आउँदा मलाई आफ्नै दाईभाई आएको आभास हुन्थ्यो र म तल्लिनतापूर्वक उनको उपचार गर्दथें ।”
अन्य चिकित्सकले नीजि क्लिनिक खोली स्वास्थ्य सेवा दिई आएकोले तपाईं पनि किन नीजि क्लिनिकबाट सेवा दिनु हुन्न ? भन्ने प्रश्नमा डा. चौधरी भन्छन–“म यहाँ कमाउन आएको हैन, मेरो जन्मस्थल सप्तरी नै भएकोले यहाँको बिरामीको सेवा गर्ने मेरो दायित्व पनि हो र प्रतिष्ठानमा नियुक्ति पाउँदा सो दायित्व पूरा गर्ने अवसर मिलेको छ, म यसलाई गुमाउन चाहन्न् ।”
ओ.पी.डि.मा हतार हतार बिरामी हेरेर नीजि क्लिनिक धाउने चिकित्सकको कार्यशैली विपरित काम गर्दै गरेको देखेर बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादव भन्छन–“सबै चिकित्सकले डा. पशुपति जस्तै नीजि क्लिनिक नखोली बिरामीको उपचारलाई प्राथमिकतामा राखी दिए राज्यले परिकल्पना गरेको सबैलाई स्वास्थ्य सेवाको नीति पूरा हुने थियो ।”
प्रतिक्रिया
० प्रतिक्रिया