दैनिक समाचारदाता
राजविराज, २ भदौ ।
सप्तरीको खडक नगरपालिका १ स्थित मलखाद डिलर श्रीमिशन कृषि फर्मका संचालक र वडाअध्यक्षको मिलोमतोमा मलखादको कालोबजारी भइरहेको त्यहाका स्थानीय किसानहरुले आरोप लगाएका छन ।
सो पालिकाका पाँच दर्जन भन्दा बढी किसानहरुले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी श्रीमिशन कृषि फर्मका संचालक मनोज कुमार चौधरी र वडाअध्यक्ष राम कृष्ण चौधरीको मिलोमतोमा किसानहरुका लागी आएको मलखादमा कालोबजारी भईरहेको दाबी गरे ।
उनीहरु मंगलवार नै जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेर सो प्रकरणको छानवीन गरी दोषीमाथी कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई ज्ञापन पत्र समेत बुझाएका छन ।
खडक नगरपालिका ११ का किसान धर्मनाथ यादवले मलको अभावमा खेतीपाती गर्न किसानले समस्या भोगिरहेका बेला डिलर र वडाअध्यक्ष मिलेर कालोबजारी गरीरहेको र वास्तविक किसानहरु मल नपाई रित्तो हात पर्कन बाध्य भएको सुनाए ।
उनले डिलर र वडाअध्यक्षको मिलोमतोमा एकै परिवारका ३÷४ जना तथा आफ्ना आसेपासेका ब्यक्तीलाई किसान कार्ड बनाई मनपरी ढंगले मलखाद विक्री वितरण भइरहेको गुनासो पोखे ।
विदेशमा रहेका श्याम मुखिया, राम मुखिया र रामशंकर यादव लगायतको नाममा किर्ते किसान कार्ड बनाएर मलखाद खरिद गरी आफ्ना नाता गोता र आसेपासेलाई बेच्ने गरेको बताए ।
पत्रकार सम्मेलनमा प्रमाणका रुपमा किसान कार्ड र डिलरबाट एक महिनाको अवधीमा वितरण गरिएको मलस्खाद वितरणको विवरण सहितको प्रतिलिपी समेत किसानहरुले सार्वजनिक गरेका छन ।
अर्का किसान नवेन्द्र रामले आफुले २०८१ साल मै किसान कार्ड बनाएर मलखाद्यका लागी डिलर कहाँ धाएको धाए पनि हालसम्म एक पटक पनि मलखाद पाउन नसकेको गुनासो पोखे ।
किसान लालो प्रसाद रामले डिलर संस्थाका संचालक चौधरीले मलखाद वापत मनपरी रकम लिने र विल समेत नदिने गरेको गुनासो पोखे ।
यता वडाअध्यक्ष रामकृष्ण चौधरीले उक्त आरोपमा कुनै सत्यता नरहेको र डिलरसँग कुनै मिलोमतो नभएको तथा पारदर्शी ढंगले नै मलखाद विक्री वितरण भइरहेको दाबी गरे ।
उनले किसान कार्ड बनाउदा जग्गाधनी प्रमाण पुर्जालाई आधार बनाइएकोमा एउटै परिवारका २ देखी ३ जनाको नाम सिफारिस भइआउदा समस्या उत्पन्न भएको तथा सोको छानवीन गरी एउटा परिवारबाट एक जनाले मात्रै किसान कार्ड पाउने व्यवस्था मिलाउन लागिएको जानकारी दिए ।
डिलरका संचालक चौधरीले पनि सो आरोपको प्रतिवाद गर्दै किसान कार्ड लिएर आउनेलाई मात्र मलखाद दिएको र कुनै कालो बजारी नगरेको दाबी गरे ।
प्रतिक्रिया
० प्रतिक्रिया