बिकेएलके
राजविराज, २८ साउन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुल्लाका ५० वर्षीय दिनेश कुमार रायलाई केही समय अघिसम्म बाढी, खडेरी, शीतलहर, गर्मी र असिनाबाट कसरी जोगिने भन्नेबारे खासै जानकारी थिएन ।
घपेशाले किसान रहेका रायका लागि वर्षेनी आउने बाढी र मौसमजन्य विपद् सामान्य जस्तै थियो । तर, विपद् आउनु अघि कसरी तयारी गर्ने र विपद्का बेला आफू तथा परिवारलाई कसरी सुरक्षित राख्ने भन्ने बारे भने उनी अनभिज्ञ थिए ।
अहिले उनको बुझाइ फेरिएको छ । विपद् आउनु अघि अपनाउनुपर्ने सावधानी देखि विपद्का बेला गरिने उद्धार र जोखिम न्यूनीकरणका उपायसम्म रायलाई जानकारी छ ।
मर्सीकोप्र्स नेपाल, कोका–कोला फाउन्डेसनको सहयोग तथा तिलाठी कोइलाडी गाउँपालिकाको समन्वयमा आसमान नेपालले सञ्चालन गरेको ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण परियोजना’ अन्तर्गत तालिम लिएपछि उनी सम्भावित विपद्को सामना गर्न तयार भएका छन् । “यो सबै तालिम लिएपछि मात्र थाहा पाएको हुँ, पहिला केही थाहा थिएन” रायले भने ।
तालिममा बाढी आउनु अघि गर्नुपर्ने तयारी, बाढीका बेला अपनाउनुपर्ने सुरक्षा उपाय, गर्मी र शीतलहरबाट बच्ने तरिका तथा असिनाबाट हुने क्षति न्यूनीकरणका उपायबारे जानकारी दिइएको थियो ।
तालिममा दिइएको जानकारीलाई व्यवहारमा उतार्न कृत्रिम घटना अभ्यास समेत गराइएको थियो । त्यस क्रममा डुबेको व्यक्तिलाई कसरी उद्धार गर्ने, जोखिममा परेकालाई कसरी सुरक्षित स्थानमा लैजाने र विपद्का बेला समुदायले कसरी समन्वय गरेर काम गर्ने भन्ने अभ्यास गरिएको थियो ।
कृत्रिम घटना अभ्यासमा सहभागी भएपछि आफूमा मात्र नभई समुदायमै विपद् सामना गर्ने क्षमता बढेको रायको अनुभव छ । “कृत्रिम घटनाको अभ्यासमा सहभागी भएर डुबेको व्यक्तिलाई उद्धार गर्नेदेखि विपद् सम्बन्धी विभिन्न कामबारे सिक्यौं । यसले मेरो मात्र होइन, गाउँकै मानिसहरुको क्षमता अभिवृद्धि भएको छ” उनले भने, “अब यहाँ हुन सक्ने विपद्को घटनाबाट जुध्न समुदाय सक्षम भएको छ ।“
तिलाठी कोइलाडी गाउँपालिका–५ को बररझुल्ला टोल बाढीको उच्च जोखिममा रहेको क्षेत्र हो । पूर्वतर्फ कोशी तथा पश्चिमतर्फ महुली र जिता नदी रहेकाले वर्षायाममा नदीमा पानीको सतह बढ्दा बस्ती र खेतीयोग्य जमिन डुबानमा पर्ने गरेको छ । बाढीले घरबस्तीमा क्षति पु¥याउनुका साथै स्थानीयको मुख्य जीविकोपार्जनको आधार रहेको कृषि क्षेत्रलाई समेत प्रभावित गर्दै आएको हो ।
बर्षेनी आउने बाढीले धानबाली नष्ट गर्दा स्थानीयको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने गरेको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले बताए ।
“बनरझुल्ला मुख्य रुपमा बाढी प्रभावित क्षेत्र हो । पूर्वमा कोशी र पश्चिममा महुली तथा जिता नदीमा आउने बाढीले बस्ती मात्र होइन, खेत पनि डुबानमा पार्ने गरेको छ” झाले भने, “धानबाली नष्ट हुँदा यहाँ बसोबास गर्नेहरूको जीविकोपार्जनमा समेत समस्या हुने गरेको छ ।”
परियोजनाले स्थानीय समुदायलाई पूर्वानुमानमा आधारित पूर्वकार्यबारे जानकारी गराएपछि पूर्वसूचना प्राप्त भएपछि तत्काल के गर्ने, परिवारका सदस्यलाई कसरी सुरक्षित स्थानमा लैजाने, महत्वपूर्ण कागजात र सामग्री कसरी सुरक्षित राख्ने तथा स्थानीय उद्धार संयन्त्रसँग कसरी समन्वय गर्ने भन्ने जानकारीले समुदायको तयारी क्षमता बढाएको छ ।
यसको प्रभाव दिनेश कुमार रायको व्यवहारमा पनि देखिन्छ । पहिले बाढी आउँदा के गर्ने भन्ने अन्योलमा रहने उनी अहिले सम्भावित जोखिमको पूर्वानुमान र पूर्वसूचनालाई महत्व दिन थालेका छन् । विपद् व्यवस्थापन केवल सरकारी निकाय वा उद्धारकर्मीको जिम्मेवारी नभई समुदाय आफैं पनि त्यसका लागि तयार हुनुपर्ने रहेछ भन्ने उनको बुझाइ छ ।
प्रतिक्रिया
० प्रतिक्रिया