दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
खुश्वु पालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका १ महनौरी टोलका २० बर्षीय गजेन्द्रनाराण यादव छन् ।
मंगलबार साँझ गाउँबाट पक्राउ परेका उनलाई बुधबार सप्तरी जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा म्याद थपेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार २०८२ मंसिर ११ गते राती ११ बजेतिर गाउँमै आयोजित एक बैबाहिक समारोहमा १४ बर्षीया खुश्वु डिजेबाला गाडीमा नृत्य गर्दै थिईन् ।
नृत्य गर्दैगर्दा अचानक अत्याधिक मादक पदार्थ सेवन गरेका यादव सो गाडीमा चढी खुश्वुसंग अभद्र व्यवहार गरेका थिए । सोही क्रममा प्रतिवाद गर्दा यादवले खुश्वुलाई धक्का दिएका थिए । जसकारण गाडीमै चलिरहेको जेनरेटरमा खुश्वुको टाउको ठोकिन पुगेको थियो । टाउकोमा गम्भिर चोट लागेका खुश्वुलाई तत्कालै उपचारका लागि स्थानिय गजेन्द्रनारायण सिंह अस्पताल पु¥याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित न्यूरो अस्पताल पु¥याइएको थियो । त्यहाँ पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि खुश्वुलाई थप उपचारका लागि काठमाडौं स्थित किर्तिपुर अस्पताल लगिएको थियो ।
केही दिनको उपचारपछि स्वास्थ्य अवस्थामा सुधार देखिएपछि २०८२ पुष ४ गते डिसचार्ज गरी ल्याउँदै गर्दा बाटोमा पुनः स्वास्थ्य अवस्था बिग्रिएको र सिरहाको लहान स्थित प्रादेशिक अस्पतालमा भर्ना गराएकोमा सोही दिन खुश्बुको मृत्यू भएको थियो ।
घट्नापछि फरार रहेका यादवको खोज तलाश कार्य जारी राखेकै बेला मंगलबार साँझ गाउँघरमै लुकी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।
मृतकका दाजु सुरज पालको जाहेरीले इलाका प्रहरी कार्यालय कडोरबोनामा उनी माथि ज्यान सम्बन्धि कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया