स्थानीय तहको कार्यकाल पाँच वर्षे कार्यकाल सकिन्न अब ६ महिना मात्र बाँकी रहेको छ । तर, राजविराज नगरपालिकाले फोहरमैला व्यवस्थापनका लागि डम्पिङ साइट निर्माणका लागि एउटा सिन्को समेत भाच्न सकेको छैन् । झण्डै साडे चार वर्ष अघि पालिकाका मेयर भिमराज यादव (हाल निलम्बित) ले फोहर व्यवस्थापनका लागि आफै सो स्थानमा पुगि कार्य शुभारम्भ गरेका थिए । तर, उनी निलम्बित भएपछि त्यसबारे चासो देखाउन नगरपालिकाले थोरै पनि तदारुकता देखाउन सकेको छैन् । स्थान टुङ्गो लगाएपनि त्यसको अवस्था बारे मौन छ । पालिका निर्माण कार्य कहाँ पुग्यो भन्ने बारे आफै बेखबर छ । बजारबाट बिहान उठाइने फोहरलाई जताभावी बिस्थापित गर्ने गरिएको छ । हाल खाडो खोलामा नै फोहरमैला फ्याल्ने गरिन्छ ।
स्थानियहरुले आ–आफ्नै घरमा फोहर व्यवस्थापन गर्ने गरेका छन् भने अधिकांशले सडक तथा सार्वजनिक स्थलमा फ्यालेको देखिन्छ । फोहरमैला व्यवस्थापन गर्ने स्थल बनाउँन नसक्दा नगरपालिकावासीले फोहरको दुर्गन्धले पीडित बन्दै आएका छन् । खाँडो नदी क्षेत्रमा फोहर फ्याल्नाले नदी आफै दुर्गन्धीत हुनका साथै पानी परेको बेला सो फोहर पुनः बाढीको सँगै स्थानियकै घरमा पुग्ने गर्दछ । यति मात्र नभएर शौचालयको फोहर समेत विभिन्न नीजि तथा पालिकाको ट्याक्टरले फ्याल्ने काम पनि खाँडो नदीमै गर्ने गरेका छन् । डम्पिङ साइट नहुँदा सोही फोहरबाट मोहर बनाउने काय समेत प्रभावित भएको छ । फोहरलाई एकत्रित गरि त्यसलाई सडाईगलाई मलखाद बनाई बिक्रि समेत गर्न सकिन्छ भने सो मलखाद खेतीका लागि निकै नै फलदायी हुने गरेको छ । हुन त डम्पिङ साइटको समस्या राजविराज नगरपालिका मात्र नभएर जिल्लाको सबै स्थानिय तहमा रहेको छ । कुनै पनि स्थानीय तहले यसबारे ठोस नीति ल्याउन सकेका छैनन् । जताभावी फोहर फ्याक्ने गरेका छन् । तसर्थ कार्यकालको अन्तिम क्षणमा पनि डम्पिङ साइट निर्माणको कार्यलाई तिब्रता दिनेतर्फ पालिका गम्भिर हुनु आवश्यक छ । फोहरबाट मोहर बनाउने काम समेतलाई सुरुवात गर्न अग्रसरता देखाउनु जरुरी छ । यसले फोहर ब्यवस्थापन हुनका साथै खेतीका लागि मलखादको समस्या थोरै भएपनि समाधान हुने कुरामा दुईमत नहोला ।
प्रतिक्रिया
० प्रतिक्रिया