दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन कार्यालय राजविराजअन्तर्गत कार्यरत दैनिक ज्यालादारी श्रमिकहरू विभिन्न माग राख्दै आन्दोलित भएका छन् ।
सिँचाइ मन्त्रालयको २०८३ सालको मापदण्डको दफा ७ मा उल्लेख गरिएको उमेर हदसम्बन्धी व्यवस्था खारेज, श्रमिकहरूको सेवा अवधि गणना गरी एकमुष्ट सुविधा उपलब्ध तथा वर्षभरि काममा लगाउने व्यवस्था मिलाउनुपर्ने लगायतका माग अधि सार्दै आन्दोलित भएका हुन् ।
दैनिक ज्यालादारी श्रमिक इकाई कार्यसमितिले श्रमिकका माग सम्बोधनका लागि प्रधानमन्त्रीसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको जनाएको छ ।
समितिका अनुसार श्रमिकहरूले २०८३ कात्तिक १९ गते ती मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीसमक्ष पठाए पनि हालसम्म माग सम्बोधनका लागि कुनै पहल नभएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको जनाएका छन् ।
कार्यालयले उमेर हदका कारण काममा नलगाउने सूचना प्रकाशित गरेपछि श्रमिकहरूको सेवा निरन्तरता कायम गर्नुपर्ने तथा वर्षभरि ज्याला भुक्तानी गर्न पुग्ने गरी आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन् ।
समितिले सार्वजनिक गरेको संघर्षका कार्यक्रम अनुसार मंसिर ३ देखि ७ गतेसम्म सम्पूर्ण श्रमिकहरूले कार्यालयको प्रशासनिक भवनमा कालोपट्टी बाँधेर धर्ना तथा ८ देखि १३ गतेसम्म कार्यालयका सम्पूर्ण सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउँदै धर्ना दिने रहेको छ । संघर्षका कार्यक्रमहरुबाट पनि माग सम्बोधन नभए १४ गतेदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिने समितिले चेतावनी दिएको छ ।
कोशी पम्प नहर, वितरण नहर र चन्द्र नहर सिँचाइ प्रणालीका साथै पम्प हाउस ए, बी, स्विचिङ स्टेसन तथा कार्यालय अन्तर्गतका विभिन्न संरचनामा कार्यरत सम्पूर्ण श्रमिकहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै संघर्ष गर्ने जनाएका छन् ।
प्रतिक्रिया
० प्रतिक्रिया