दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
जसपा नेपालका केन्द्रीय सदस्य एवं युवा विद्यार्थी तथा खेलकुद बिभागका प्रमुख बिदेश्वर यादव (विक्की) ले शुक्रबार पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएका छन् ।
मधेश प्रदेशसभाका पूर्वसदस्य समेत रहेका उनले शुक्रबार सामाजिक संजालमा जसपा नेपालप्रति असन्तुष्टि व्यक्त गर्दै वर्तमान राजनीतिक दिशा, आन्तरिक लोकतन्त्रको अवस्था र नेतृत्व विकासप्रतिको दृष्टिकोणसँग गम्भीर असहमति जनाउँदै जनता समाजवादी पार्टी नेपालसँगको आफ्नो पार्टीगत आबद्धताबाट राजीनामा दिने निर्णय गरिएको उल्लेख गरेका छन् ।
उनले संघीयता, सामाजिक न्याय, समानुपातिक समावेशिता, पहिचान, सुशासन र जनताको सम्मानका लागि आफ्नो प्रतिबद्धता रहेको भन्दै लेखेका छन, “मेरो विश्वास छ, मधेसको राजनीतिलाई अब नयाँ पुस्ताको ऊर्जा, वैचारिक स्पष्टता, संस्थागत लोकतन्त्र र जनताप्रतिको जवाफदेहितासँग जोड्नुपर्छ । पुरानो नेतृत्वको अनुभव आवश्यक छ, तर त्यसले नयाँ नेतृत्वको बाटो छेक्नु हुँदैन । राजनीतिक निरन्तरता महत्वपूर्ण छ, तर त्यो पुस्तान्तरणको अवरोधक बन्नु हुँदैन । पार्टी आवश्यक छ, तर पार्टीको अस्तित्व जनताको मुद्दाभन्दा माथि हुन सक्दैन ।”
“पार्टी भन्दा मुद्दा ठूलो, नेतृत्व भन्दा विचार ठुलो, पद भन्दा स्वाभिमान ठुलो र व्यक्ति भन्दा जनता ठुलो हुन ।“ यी मान्यतासँग सम्झौता गरेर पदमा रहिरहनुभन्दा आफ्नो राजनीतिक विवेकअनुसार अलग बाटो रोज्नु उचित ठानेको छु । मेरो यो निर्णय अन्त्य होइन, विचार, लोकतन्त्र, नयाँ नेतृत्व र मधेसको अधिकारलाई केन्द्रमा राख्ने राजनीतिक यात्राको नयाँ सुरुवात हो । उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया
० प्रतिक्रिया