तालिममा प्राप्त ज्ञान, छिमेकीलाई जोगाउन लाग्यो काम 

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, श्रावण २९, २०८३
|
|
११ पटक हेरिएको
Shares
तालिममा प्राप्त ज्ञान, छिमेकीलाई जोगाउन लाग्यो काम 

सारांश

  • २०८२ माघ महिनाको घट्ना हो ।
  • दिउँसो करिब ४ बजेको थियो ।
  • मिना घरमा भाँडा माझिरहेकी थिइन् ।
विकेएलके
राजविराज, २९ साउन । 
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ टिकुलियाकी ३५ वर्षीया मिना देवी यादवका लागि विपद् व्यवस्थापन सम्बन्धी तालिम केवल सिकाइमा सीमित रहेन । तालिममा सिकेको सीप व्यवहारमा उतार्दै उनले करेन्ट लागेर बेहोस भएका आफ्नै छिमेकीको ज्यान जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरिन् ।
२०८२ माघ महिनाको घट्ना हो । दिउँसो करिब ४ बजेको थियो । मिना घरमा भाँडा माझिरहेकी थिइन् । त्यही बेला छिमेकी ’सुखचैन मुखिया’ खेतमा मोटर चलाएर पानी पटाउँदै थिए । विद्युत् प्रवाह भइरहेको नाङ्गो तारमा उनको खुट्टा छोइएपछि उनलाई अचानक करेन्ट लाग्यो र मुखिया चिच्याउँदै बेहोस भए ।
छिमेकीलाई करेन्ट लागेको आवाज सुन्नासाथ मिना घरको काम छाडेर घटनास्थल तर्फ दौडिइन् । त्यहाँ पुग्दा मुखियालाई करेन्ट लागेर बेहोस अवस्थामा थिए । उद्धारका क्रममा स्थानीय उमेश मुखिया पनि आइपुगे । तालिममा सिकेको सावधानी अपनाउँदै उनले सुकेको बाँसको प्रयोग गरेर विद्युत् लाइन काटे । त्यसपछि मात्र मुखियालाई उनीहरुले सुरक्षित रुपमा उद्धार गरे ।
“मुखियालाई करेन्ट लागेर चिच्याएको आवाज सुन्ने बित्तिकै उद्धार गर्न घटनास्थलमा पुगें । त्यसबेला सम्म तालिम लिएका स्थानीय उमेश मुखिया पनि आइपुगेका थिए । उनले सुकेको बाँस प्रयोग गरेर लाइन काटे” मिना सम्झिन्छिन् ।
विद्युतको सम्पर्कबाट छुटाएपछि मिनाले तालिममा सिकेको प्राथमिक उपचार सम्बन्धी सीप प्रयोग गरिन् । उनले मुखियाको अवस्था जाँच गरी आवश्यक प्राथमिक उपचार गरिन् र तत्काल एम्बुलेन्स बोलाएर अस्पताल पठाउने व्यवस्था मिलाइन् । समयमै उद्धार र उपचारका लागि पहल गरिएपछि मुखियाको ज्यान जोगियो ।
गृहणी रहेकी मिनाले २०८२ पुषमा मात्र खोज तथा उद्धार (सीआरटी) सम्बन्धी तालिम लिएकी थिइन् । मर्सीकोप्र्स नेपाल र कोका–कोला फाउन्डेसनको सहयोग तथा तिलाठी कोइलाडी गाउँपालिकाको समन्वयमा आसमान नेपालले सञ्चालन गरेको ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण परियोजना’ अन्तर्गत उनले तालिम लिएकी हुन् ।
तालिममा उनले प्राथमिक उपचार, सर्पदंश, करेन्ट लाग्दा अपनाउनु पर्ने सावधानी, आगलागी तथा अन्य विपद्का समयमा उद्धारका आधारभूत उपायबारे सिकेकी थिइन् । तालिम सकेको एक महिना नपुग्दै सिकेको ज्ञान प्रयोग गर्ने अवस्था आएपछि त्यसको महत्व झनै महसुस भएको उनी बताउँछिन् ।
“तालिममा सिकेको सीपले नै मुखियाको ज्यान जोगाउन सफल भयौं,” मिना भन्छिन्, “विपद् परेको बेला आत्तिनु भन्दा कसरी सुरक्षित रूपमा उद्धार गर्ने भन्ने कुरा थाहा हुनु धेरै महत्वपूर्ण रहेछ ।”
मिनाको यो अनुभवले विपद् व्यवस्थापनका लागि समुदायस्तरमै तयार जनशक्ति हुनुको महत्व देखाएको छ ।
तालिम लिएर तयार भएका स्थानीय स्वयंसेवकले विपद्का बेला तत्काल उद्धार, प्राथमिक उपचार र सुरक्षित व्यवस्थापनमा भूमिका खेल्न सक्ने भएकाले यस्ता कार्यक्रमले समुदायको विपद् प्रतिरोधी क्षमता बढाउन सहयोग पु¥याएको मिनाको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?