दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
लैंगिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत पहिलो दिन बुधबार राजविराज नगरपालिकामा प्रभातफेरी र कोण सभा गरिएको छ ।
जिल्लाका सरकारी कार्यालय, संघसंस्था, शैक्षिक संस्थाहरू लगायतको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिको प्रांगणबाट निस्किएको प्रभातफेरि नगरको विभिन्न भागको परिक्रमा गरि पुनः जिल्ला समन्वय समिति कै प्रांगणमा कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले मधेस प्रदेशमै सबैभन्दा बढी सप्तरी जिल्लामा लैंगिक हिंसा भइरहेको तथ्यांक रहेकोले लैंगिक हिंसा न्यूनीकरणका लागि प्रत्येक व्यक्तिले आफ्नै घरबाट सुरू गर्नुपर्ने आवश्यक रहेको बताए ।
लैंगिक हिंसा विरूद्धको अभियानमा मात्र यो अभियान नभएर यो अभियान ३ सय ६५ दिनसम्म प्रत्येक व्यक्तिले आफैबाट लागु गर्नुपर्ने उनको भनाई छ । कसैले हिंसा गर्न हुदैन, हिंसा गर्न दिनुहुन्न र हिंसा भइरहेको हेरेपछि र सुनेपछि चुप लागेर नबसेर न्यायका लागि अगाडि बढ्नुपर्ने उनले बताए ।
कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले बालबालिकाहरूमाथि हिंसाका घटनाहरू बढ्दै गएको घर, विद्यालयमा र समाजबाटै बालबालिका हिंसाको सिकार हुँदै आएकोले हिंसाको सिकार हुन नदिन र हिंसा नसहन र हिंसा बिरूद्ध आवाज उठाउन बिद्यार्थी भाइबहिनीलाई आग्रह गरिन ।
कार्यक्रममा पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष सुधा देवले जिल्लामा भइरहेको हिंसा न्यूनीकरणका लागि प्रत्येक बालबालिकालाई गुणस्तरीय शिक्षा दिएर हरेक पक्षमा सक्षम बनाउन सके हिंसाका घटना न्यूनीकरण हुने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति शिवनारायण साह, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख रूपक खड्का लगायतले आ–आफ्ना आफ्नो धारणा राखेका थिए । मुलुकभर महिला हिंसा बिरूद्धको अभियान २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म मनाईदै छ ।
प्रतिक्रिया
० प्रतिक्रिया